








संखुवासभा । २०८१ असार २७ गते
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ का लागि जिल्ला अभिलेखीकरण गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामाथि सरोकारवालाबिच समीक्षा कार्यक्रम असार २६ गते सम्पन्न गरिएको छ ।
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ का लागि जिल्लामा सन् २०२४ को जनवरीदेखि जुनसम्म ६ महिनाको अवधिमा भएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामाथिको समीक्षा ०८१ असार २६ गते सङ्खुवासभामा सम्पन्न गरिएको हो । इन्सेक प्रतिनिधिले अभिलेखीकरण गरेका २४ ओटा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामाथि छलफल गरिएको हो ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले आयोजना गरेको अर्धवार्षिक समीक्षा कार्यक्रममा उक्त तथ्यांक सार्वजनिक गरिएको हो । सन् २०२४ को जनवरीयता भएका मानव अधिकार उल्लङ्घनका २४ घटनामा २४ जना पीडित भएका छन् । इन्सेकले सार्वजनिक गरेको प्रतिवेदनमा चार जना बालिकासहित ६ जना बलात्कारको घटनामा पीडित, चार जनाको हत्या, कुटपिट अन्यपक्षबाट एक, घरेलु हिंसाका १०, हातपात एक जना, एक जनाको मृत्यु र एक जना आत्महत्या दुरुत्सानको घटना सार्वजनिक भएको थियो । अघिल्लो वर्षभन्दा यस वर्ष मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामा तुलनात्मक रुपमा कम भएको इन्सेकले जनाएको छ ।
इन्सेकले जिल्लामा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामा पीडित भएकाहरुको अभिलेखीकरण गरेर राज्यलाई खवरदारी गर्दै आएको खाँदबारी नगरपालिका नगरप्रमुख महेश थपलियाले बताउनुभयो । इन्सेकले १० वटै स्थानीय तहका न्यायिक समितिसँग सहकार्य गरेर अभिलेखीकरणलाई थप सुधार गर्नु पर्ने आवश्यकता भएको नगर प्रमुख थपलियाले बताउनुभयो ।
इन्सेकले स्थानीय तहमा प्रतिनिधि राखेर न्यायिक समितिमा अभिलेख तथा घटनाहरु समेट्न आवश्यक भएको उहाँको भनाइ छ । इन्सेकले आगामी दिनमा मानव अधिकारकर्मी,नागरिक समाज र अन्य पक्षलाई राखेर थप बहस र छलफल राख्नुपर्ने आवश्यकता भएको नगर प्रमुख थपलियाले औँल्याउनुभयो । कार्यक्रममा आएको सुझावलाई समेटेर प्रतिवेदन बनाउन सके अझ प्रभावकारी हुने नगर प्रमुख थपलियाले बताउनुभयो ।
राज्यले बनाएको नियम कानुन पालना गर्दा अरुलाई असर नहुने गरी प्रयोग गर्नु पर्ने खाँदबारी नगरपालिका उपप्रमुख तथा न्यायिक समितिकी संयोजक महेश्वरा श्रेष्ठ बज्राचार्यले बताउनुभयो । विभिन्न परिस्थितीका आवजुत पनि इन्सेकले जिल्लाको मानव अधिकारको क्षेत्रमा खवरदारी र अभिलेखीकरण गर्ने गरेको उपप्रमुख श्रेष्ठले बताउनु भयो । मानव अधिकारका क्षेत्रमा काम गर्ने विभिन्न संघ संस्थामध्ये इन्सेकले जिल्लाको मानव अधिकार उल्लङ्घनको अवस्था अभिलेखीकरण गर्ने गरेको प्रमुख जिल्ला अधिकारी ध्रुबबहादुर खड्काले बताउनुभयो ।
जिल्लामा कानुन कार्यान्वयन राम्रो भएका काराण सबै पक्षलाई कानुनी दायरामा ल्याएको र कानुनी उपचार समेत पाएका कारण इन्सेकको वर्ष पुस्तकमा नमुना जिल्लाको रूपमा अभिलेख हुनु पर्ने प्रमुख जिल्ला अधिकारी खड्काले बताउनु भयो । अघिल्लो वर्षको तुलनामा मानव अधिकार उल्लङ्घनका घटना समेत कमी भएको उहाँको भनाइ छ ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका डिएसपी घनश्याम श्रेष्ठले पछिल्लो समय उल्लङ्घन तथा ज्यादतीका घटनामा कमी आएको बताउनु भयो । इन्सेकले जिल्लामा छुटेका घटनालाई थप मापदण्ड बनाएर समेट्न जरूरी भएको डिएसपी श्रेष्ठले बताउनु भयो । मानव अधिकारको आवधिक र अर्ध वार्षिक र वार्षिक कार्यक्रमले जिल्लामा राम्रो सन्देश जाने डिएसपी श्रेष्ठले बताउनु भयो ।
कार्यक्रममा खाँदबारी नगरपालिका-१ का वडाध्यक्ष निरञ्जन श्रेष्ठले कुन स्थानीय तहमा कति घटना भए स्थानीय तह खुल्ने तथ्याङ्क आवश्यक भएको बताउनु भयो । कार्यक्रमका अध्यक्ष तथा नेपाल पत्रकार महासङघका अध्यक्ष इन्द्र गिरीले मानव अधिकार संरक्षण सम्वद्धनका लागि इन्सेकको महत्वपूर्ण भूमिका खेलेको बताउनु भयो । अध्यक्ष गिरीले अर्ध वार्षिक समीक्षामा आएको सहभागीको तर्फबाट आएको सल्लाह सुझाव जिल्ला प्रतिनिधिले प्रदेश र केन्द्र सम्म पुर्याउनु जरुरी भएको बताउनु भयो । कार्यक्रमा विभिन्न सरकारी तथा गैरसरकारी संस्था, नागरिक समाज क्रियाशिल पत्रकार तथा मानव अधिकारसँग सरोकार संघ संस्थाको उपस्थिती रहेको थियो ।
भविन कार्की