नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ को प्रकाशन पूर्व समीक्षा सम्पन्न
सुर्खेत । २०७७ पुस १३ गते
इन्सेक सुर्खेतको आयोजनामा पुस १२ गते वीरेन्द्रनगरमा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ को प्रकाशन पूर्व समीक्षा कार्यक्रम सम्पन्न भएको छ । इन्सेक सुर्खेत जिल्ला प्रतिनिधि दुर्गा थापाले सन २०२० जनवरी देखि डिसेम्बर सम्म जिल्लमा सङ्कलन गरिएका मानव अधिकार उल्लंघन र ज्यादतीका ८९ घटनाहरु प्रस्तुत गर्नुभएको थियो । जस अन्तर्गत गिरफ्तारका ३, राज्यबाट धम्की कुटपिट २, झडप १, धम्की कुटपिट अन्यबाट १, बालिका बलात्कार ५, बालिकामाथि यौन दुव्र्यवहार ४, बाल अधिकार ४ बलात्कार ६, बलात्कार प्रयास १ र घरेलु हिंसाका ६२ वटा घटनाको प्रस्तुत गरिएका थिए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले कर्णाली प्रदेशको राजधानी सुर्खेत अपराधी र अपराधिक कार्यको हब बन्दै गएकोेले यसलाई रोक्न सबै पक्षबिच सहकार्यको खाँचो रहेको बताउनु भएको छ । प्रजिअ रेग्मीले प्रदेश राजधानी सुर्खेतमा जनसंख्याको चाप बढेसँगै अपराधका प्रकृति तथा घटनाहरू बृद्धि भएकोले प्रहरी, प्रशासन, अधिकारवादी संघसंस्था, नागरिक समाज, सञ्चारकर्मी, कानुन व्यवसायी र अन्य सबै सरोकारवालाहरूको समन्वयमा मात्र त्यस्ता अपराधलाई न्यूनीकरण गरी मानव अधिकारको संरक्षण सम्बद्र्धनमा टेवा पुर्याउन सकिने उल्लेख गर्नु भयो ।
यस्तै जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख एसपी राजेन्द्रप्रसाद भट्टले मानव अधिकारको संरक्षणगर्ने प्रमुख दायित्व राज्यको भएपनि यसमा मानव अधिकारवादी संघसंस्था, नागरिक समाज, कानुन व्यवसायी र अन्य सबै सरोकारवालाहरूको इमान्दारिताको खाँचो रहेको बताउनु भयो । कार्यक्रममा वामका कार्यकारी निर्देशक मधुरानी ढकाल, अपाङ्ग महासंघका मायाप्रसाद जैसी, सञ्चारकर्मीहरू नवीन शाही, गोविन्द खत्री, जगतदल जनाला विक र लक्ष्मी भण्डारीले प्रतिवेदनमाथि टिप्पणी गर्दै वास्तविक तत्थ्यका आधारमा वर्ष पुस्तक प्रकाशनमा ल्याउनु पर्ने सुझाव दिएका थिए । इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेतका प्रलेख अधिकृत टीका विष्टको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला स्थित सुरक्षा नीकायका प्रमुख, अधिकारकर्मी, नागरिक समाजका प्रतिनिधी र सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो ।
इन्सेक प्रदेश कार्यालय सुर्खेत