नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम सम्पन्न
सप्तरी । २०७७ पुस १३ गते
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ का लागि सप्तरीमा सङ्कलन गरिएको मानव अधिकार उल्लङ्घन र ज्याद्तीका घटनाहरूको प्रकाशन पूर्व पुस १३ गते राजविराजमा वार्षिक समीक्षा गोष्ठी सम्पन्न भएको छ । इन्सेक सप्तरी प्रतिनिधि मनोहरकुमार पोखरेलका अनुसार सन् २०२० को अवधिमा महिला र बालबालिका हिंसाका घटना बढी अभिलेख गरिएको छ । इन्सेकको तथ्याङ्कमा यो अवधिमा १ सय ३० ओटा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना सङ्कलन गरिएको छ । इन्सेक प्रतिनिधि पोखरेलले प्रस्तुत गर्नुभएको प्रतिवेदन अनुसार यस अवधिमा बढी चर्चामा रहेको घटनामा सामूहिक बलात्कारको घटना उजुरी गर्न डाक्नेश्वरी नपा–७ ललितपुरका पञ्चहरूले रोक लगाए पछि सोही ठाउँकी १७ वर्षीया बालिकाले ०७७ भदौ ३० गते गरेको आत्महत्या घटनामा गिरफ्तार दुई बालक जिल्ला अदालतको असोज २७ गतेको आदेशमा पुर्पक्षका लागि बाल सुधार गृह वीरगंजमा छन् ।
आत्महत्या दुरुत्साहन मुद्दामा जयकान्त मण्डल, बासुदेव मण्डल र सत्यनारायण मण्डल जनही १ लाख १० हजार रुपियाँ धरौटी राखेर असोज २७ गते र पुस ६ गते गिरफ्तार शत्रुघन मण्डल पुस ८ गते २ लाख रुपियाँ धरौटी राखी पुर्पक्षका लागि रिहा भएका छन् । राजगढ गाउँपालिका–४ बेल्ही टोलका १७, १६ तथा १५ वर्षीय बालक र १८ वर्षीय कन्तलाल सदालाई चोरीको आरोपमा ०७७ जेठ २९ गते गाउँलेहरूको पञ्चायतीको निर्णयले कृषि हाट सेडमा सार्वजनिक रूपमा दण्ड सजायस्वरुप ११/११ पटक बाँसको सिर्कनाले कुटपिट गरी २ हजार ५ सय रुपियाँ जरिबाना तिर्न लगाए । आरोपितहरूमाथि कारवाही भएन । बलान बिहुल गाउँपालिका–३ मौवाहाका २६ वर्षीय हरेकृष्ण साह र २४ वर्षीय चन्द्र यादवलाई ०७६ चैत १६ गते सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट रामनगर कोदरकट्टीका सशस्त्र प्रहरी मनोज चौधरीले निर्घात कुटपिट गरेको भिडिओ र फोटो सामाजिक सञ्जाल र सञ्चार माध्यममा सार्वजनिक भएपछि आरोपितमाथि कारवाही भयो । डाक्नेश्वरी नगरपालिका प्रमुख ६८ वर्षीय शिवनारायण साहमाथि ०७६ माघ २१ गते पाँच जनाले अमानविय अपमानजनक व्यवहार गरेको आरोपमा सोही दिन गिरफ्तार तीन जना माघ २९ गते जिम्मा जमानीमा रिहा भए ।
जिल्ला अदालतमा ०७७ कात्तिक २४ गते हाजिर भएका महेश्वरप्रसाद सोही दिन २५ हजार रुपियाँ धरौटी राखी पुर्पक्षका लागि रिहा भए ।छिन्नमस्ता गाउँपालिका–७ स्थित हाटी गाउँमा ०७७ जेठ २१ गते दुई समूहबीच भएको झडपमा प्रहरीसमेत दुवै पक्षका ३१ जना घाइते भए । दोहोरो झडप भई तनाव बढेपछि स्थितीलाई नियन्त्रणमा लिन प्रहरीले लाठीचार्ज र आठ राउण्ड अश्रुग्याँस प्रहार ग¥यो । विवादका विषयमा छलफलबाट समस्या समाधान गर्ने र पुनः झगडा नगर्ने भनेर सहमति भयो ।
तिरहुत गाउँपालिका–२ मैनाकडेरीकी ४७ वर्षीया दाइमनदेवी यादवको हत्या आरोपित सोही ठाउँका २१ वर्षीय अजयकुमार यादव, ५२ वर्षीय राधे भनिने ओमप्रकाश यादव र कञ्चनपुर नपा–११ ठेलियाका ५५ वर्षीय बमबहादुर भनिने रामनारायण साह तेली कात्तिक २० गतेदेखि पुर्पक्षका लागि कारागारमा थुनामा छन् । सुरुङ्गा नपा–३ लक्ष्मीपुरकी २४ वर्षीया बसन्तीदेवी सदालाई साउन ७ गते मट्टितेल छर्की आगो लगाएर हत्याको प्रयास गरेको आरोपमा उनका पति २७ वर्षीय दिपेन भनिने दिपेन्द्र सदा भदौ ११ गतेदेखि पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा छन् । १० वर्षीया बालिकालाई फागुन २ गते मादक पदार्थ सेवन गरेका उनका बुवाले बलात्कार गरेको आरोपमा फागुन ४ गते उजुरी दर्ता भयो । आरोपित हालसम्म गिरफ्तार भएका छैनन् । सात वर्षीया बालिकालाई ०७७ मङ्सिर ११ गते यौन दुर्व्यवहार गरेको आरोपमा तिरहुत गाउँपालिका–५ लोहजराका ७६ वर्षीय लक्ष्मी महतो अदालतको आदेशमा मङ्सिर २३ गते २५ हजार रुपियाँ धरौटी राखी पुर्पक्षका लागि रिहा भए । यो वर्ष गैरराज्यबाट चार ओटा हत्याका घटनामा दुई जना ज्येष्ठ नागरिक, एक दलितसहित चार पुरुषको हत्या भयो ।
आरोपित १८ जनामध्ये ६ जना थुनामा छन् भने १२ जना गिरफ्तार भएनन् । बालक हत्याको तीन ओटा उजुरी परेकोमा एक घटनामा एक जना पुर्पक्षका लागि थुनामा र दुई बालक जमानीमा रिहा भएका छन् । महिला हत्याको चार घटनामा २१ देखि ६० वर्षका २० जना आरोपित रहे । आरोपितमध्ये चार जना थुनामा छन्, तीन जना साधारण तारेखमा रिहा भएका छन् भने चार जना हालै गिरफ्तार भएका छन् । यसैगरी महिला बलात्कारका १० घटनामा १८ देखि ३५ वर्षीया १० महिला पीडित भइन् । एक सामूहिक बलात्कारसहित १० बलात्कारको घटनामा १९ देखि ३५ वर्षीय १२ जना आरोपितहरू छन् । जसमा पाँच जना थुनामा र ६ जना फरार छन् । एउटा घटनामा गाउँमै सहमति भयो । बालिका बलात्कारको २६ घटनामा ४ देखि १७ वर्षीया उमेर समूहका २६ जना बालिका पीडित भइन् । जसमा एक बालिकाले आत्महत्या गरिन् । पीडितमध्ये तीन जना अपाङ्गता भएकी बालिका छिन् । आरोपित ७ वर्षदेखि ४५ वर्ष उमेर समूहका ३४ जना छन् । आरोपितमध्ये १६ जना पुर्पक्षका लागि थुनामा र एक बालक बालसुधार गृहमा छन् भने सात र आठ वर्षीय दुई बालकमाथि मुद्दा चल्न नसकेर अभिभावकको जिम्मा लगाइएको छ ।
एक जना धरौटीमा रिहा भएका छन् । आरोपितमध्ये एक जना अपरिचित र एक जना बालिकाका बुवा समेत १४ जना गिरफ्तार भएका छैनन् ।यो अवधिमा एक पाँच वर्षीय बालकलाई अप्राकृतिक मैथुन गरेको आरोपित २० वर्षीय आरोपित गिरफ्तार भएका छैनन् । बालविवाहका पाँच घटना जनप्रतिनिधि, प्रहरी, इन्सेक, बाल सञ्जाल र गाउँलेको पहलमा रोकिएको छ भने एउटा बाल तथा बहुविवाहको आरोपित दुई जना फरार छन् । बालिका बेचविखनका दुई घटनामा १५, १४ र १३ वर्षीया बालिका पीडित भइन् । आरोपितमध्ये ४२ वर्षीया पुर्पक्षका लागि थुनामा र १६ वर्षीय बालसुधार गृहमा छन् । अन्य ४५, १९ र १८ वर्षीय पुरुष हालसम्म गिरफ्तार भएका छैनन् । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीकी एक महिला र एक पुरुष कार्यकर्ता ११ दिनसम्म गैरकानुनी थुनामा रहे ।
एक ठाउँमा भएको नाकाबन्दीका कारण ५० घरधुरी दलित परिवार हिँड्दै आएको बस्ती जोड्ने गाउँ ब्लकमा रहेको बाटो अवरुद्ध बन्यो ।कोभिड–१९ नियन्त्रणका नाममा राज्यबाट ६ ओटा कुटपिट र दुर्व्यवहारका घटना भए । जसमा १८ जना पीडित बने । चार ओटा घटनाको उजुरी परेन भने दुई घटनाका आरोपित दुई प्रहरी र एक सशस्त्र प्रहरीमाथि कारवाही भयो । आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार अन्तर्गत यो वर्ष चार ओटा घटना अभिलेख भएको छ । चार घटनामा दलित मुसहर समुदायको १४ घर, क्याम्पसको कुर्सी, जन्ती हिंडेको मोटरसाइकल र राजविराज नगरपालिकाको टिपरको शीशामा क्षति पुगेको छ ।
कार्यक्रममा जिल्ला न्यायाधीश राजेन्द्रकुमार श्रेष्ठले सबैले आ–आफ्नो भूमिका प्रभावकारी बनाउनु पर्ने र वर्ष पुस्तकमा मानव अधिकारको पक्षमा भएका सकारात्मक विषय समेट्नु पर्ने बताउनु भयो । राजविराज नगरपालिकाका उपप्रमुख साधना झाले नागरिकमा चेतना बढे मात्र विकासले स्थायित्व लिने भन्नु हुँदै काम टार्ने भन्दा विकास चाहने कर्मचारीको अभाव खटकिएको बताउनु भयो । जिल्ला अदालतका स्रेस्तेदार कुमार मास्केले महिला सञ्जालहरू सशक्त बन्नुपर्ने जनाउँदै स्वच्छ वातावरणमा बाँच्न पाउने अधिकारबाट वञ्चित हुनु परेकोमा स्थानीय तहको ध्यानाकर्षण गर्नु भयो ।
नागरिक समाजका अध्यक्ष थानसिंह भन्सालीले जनप्रतिनिधि, प्रहरी र अगुवाहरू नै गैरजिम्मेवार भएकाले अस्तव्यस्तता बढेको बताउनु भयो ।जिल्ला बार इकाई सप्तरीका अध्यक्ष डोमन साहको अध्यक्षता एवम् इन्सेक सदस्य बैद्यनाथ झाद्वारा सञ्चालित कार्यक्रममा वक्ताहरूले हिंसा नियन्त्रणका लागि समन्वय र सहकार्यका साथ राज्यले सकृयता बढाउनु पर्ने र अन्यले आफ्नो भूमिकालाई प्रभावकारी बनाउनु पर्नेमा जोड दिए ।
मनोहरकुमार पोखरेल