








सल्यान । २०७७ मङ्सिर २६ गते
इन्सेक सल्यानको आयोजनामा मङ्सिर २५ गते सदरमुकाम खलंगामा नेपाल मानव अधिकार वर्ष पुस्तक–२०२१ को प्रकाशन पूर्व समीक्षा कार्यक्रम सम्पन्न भएको छ । इन्सेक जिल्ला प्रतिनिधि मिना बुढाथोकीले २०२० जनवरीदेखि नोभेम्बरसम्म सङ्कलन गरिएका घटनाहरू प्रस्तुत गर्नु भएको थियो । यस अवधिमा ५६वटा घटना अभिलेख गरिएका छन् । जसमा १ सय ८७ महिला र ७१ बालबालिका पीडित भएका छन । जसमध्ये महिला अधिकारका २२ वटा, भौतिक संरचना क्षतीका ४ वटा, नागरिक तथा सामाजिक अधिकारका ४ वटा र नागरिक अधिकारका २ वटा रहेका छन् । वर्षभरीको तथ्यांकलाई हेर्दा बलात्कारका घटना धेरै भएको बुढाथोकीले जानकारी दिनुभयो । जसअनुसार जिल्लामा २४ वटा बालिका तथा महिला बलात्कारका घटना घटेका छन् ।
जिल्ला न्यायाधीवक्ता भिमसेन काफ्लेले मानवअधिकार हनन को घटनाका कारक तत्व पत्ता लाई जनचेतना जगाउन आवश्यक रहेको बताउनुभयो । सहायक प्रमुख जिल्ला अधिकारी थमन खड्काले न्यायिक प्रक्रिया पछि पनि पीडितलाई सामाजिक पुनर्मिलनको लागि निरन्तर फलोअप हुनु पर्नेमा जोड दिनुभयो । कार्यक्रममा डिएसपी गोविन्द थापाले प्रहरीले मानव अधिकार हनन नहुने गरी काम गरिरहेको जिकिर गर्नुभयो । स्थानीय तहमा भएका न्यायिक निकायलाई अझै प्रभावकारी र विश्वसनीय बनाउने हो भने यस्ता घटना अझै कम हुने उहाँको भनाई थियो । नेपाल बार एसोसिएशन सल्यानका अध्यक्ष लाल बहादुर रावतले कानुनी प्रकृया झन्झटिलो भएकोले यसलाई अझै छिटो छरितो बनाएमा पीडितलाई छिटो न्यायको अनुभूति हुने बताउनु भयो । यस्तै महिला मानव अधिकार रक्षक सञ्जालका अध्यक्ष सोवित बस्नेतले मानव अधिकार को रक्षाको लागि इन्सेकले जिल्लामा प्रशंसनीय भूमिका खेलेको बताउनु भयो । कार्यक्रमको सञ्चालन इन्सेकको इएलपी परियोजनाका सहजकर्ता रामचन्द्र रेग्मीले गर्नु भएको थियो ।
मिना बुढाथोकी