नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ को वार्षिक सम्पादन भेला सम्पन्न

काभ्रे । २०७७ पुस १९ गते

 

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेश कार्यालय हेटौँडाको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ वार्षिक सम्पादन भेला पुस १९ गते धुलिखेलमा सम्पन्न भएको छ । बागमती प्रदेश भित्रका इन्सेक जिल्ला प्रतिनिधिहरूले जिल्लामा अभिलेख गरेका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाको नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन पूर्वको सम्पादन कार्य सम्पन्न भएको हो । सम्पादन भेलामा इन्सेक केन्द्रीय कार्यालयका मानव अधिकार प्रलेख तथा पैरबी विभाग प्रमुख श्रीराम बजगाईले इन्सेकलाई नेपालमा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाको तथ्याङ्क सङ्कलन र अभिलेखिकरणमा विश्वासनियता बनाउन वर्ष पुस्तकले महत्वपूर्ण भुमिका निर्वाह गरेको बताउनु भयो । बजगाईँले नेपाल मानव अधिकार वर्ष पुस्तक नेपालमा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना विवरणको बैक भएको बताउनु भयो । उहाँले इन्सेकले सामाजिक न्याय र मानव अधिकारका लागि ७७ ओटै जिल्लामा जिल्ला प्रतिनिधि र सात ओटै प्रदेशका प्रदेश कार्यालयमार्फत् मानव अधिकारको अवस्थाको बारेमा तथ्याङ्क सहित विश्लेषणात्मक विवरण सङ्कलन भई त्यसको सम्पादन भइरहेको उल्लेख गर्नुभयो ।

इन्सेक बागमती प्रदेश कार्यालयका संयोजक कृष्ण गौतमले इन्सेकले प्रकाशन गर्दै आएको नेपाल मानव अधिकार वर्ष पुस्तक २९ औँ श्रृङ्खलामा आइपुगेको र अब समय अनुसार मानव अधिकार वर्ष पुस्तक  सिर्जनशील र प्रभावकारी बनाउन वर्ष भरी सङ्कलन गरिएका घटनाहरूको अद्यावधिक सहित वार्षिक सम्पादन भेला सम्पन्न भएको बताउनु भयो । गौतमले इन्सेक जिल्ला प्रतिनिधिहरूले वर्ष भरी सङ्कलन गरिएका घटनाहरूको अद्यावधिक गरिएको र सम्पादनका क्रममा  अपुग रहेका सूचनाहरू यथासक्य चाँडो अपडेट गरी पठाउन जिल्ला प्रतिनिधिहरूलाई सुझाव दिनु भएको थियो ।मानव अधिकार प्रलेख तथा पैरवी विभागका सम्झा श्रेष्ठले नेपालले अन्तर्राष्ट्रिय स्तरमा गरेका प्रतिवद्धता र त्यसको कार्यान्वयन पक्षको बारेमा इन्सेकले अध्ययन गर्दै आएको बताउनु भयो ।\

पुस १७ गतेदेखि सुरु गरिएको वार्षिक सम्पादन भेलामा प्रदेशका १३ ओटै जिल्लाबाट नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ का लागि सन् २०२० जनवरीदेखि डिसेम्बरसम्म सङ्कलन गरिएका मानव अधिकार तथा उल्लङ्घन तथा ज्यादतीका घटनाहरूको वार्षिक सम्पादन गरिएको छ । जिल्ला प्रतिनिधिहरू सङ्कलन गरेका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरूलाई अभिलेखिकरणमा इन्सेक केन्द्रीय कार्यालयबाट गीता माली र रमेशप्रसाद तिमल्सिना तथा बागमती प्रदेश संयोजक कृष्ण गौतम र गणेश भण्डारीले सहजीकरण गर्नु भएको थियो । नेपाल मानव अधिकार वर्ष पुस्तक १९९२ देखि नियमित प्रकाशन हुँदै आएको छ । यो वर्ष पुस्तक हरेक वर्ष प्रजातन्त्र दिवसको अवसर पारेर फागुन ७ गते विमोचन गरिँदै आएको छ ।

हिरामान लामा