





सिन्धुपाल्चोक । २०७७ मङ्सिर २६ गते
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ का लागि सन् २०२० भरि जिल्लामा भएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतिका घटनाहरूको पूर्व समीक्षा कार्यक्रम जिल्ला न्यायाधीश महेन्द्रबहादुर कार्कीको प्रमुख आतिथ्यतामा ०७७ मङ्सिर २५ गते चौतारामा सम्पन्न भयो ।
कार्यक्रमका प्रमुख अतिथि जिल्ला न्यायधीश कार्कीले मानव अधिकार संरक्षणका लागि बिभिन्न कानुन निर्माण भए पनि ब्यवहारमा उर्तान कठिनाइ भएको र मानव अधिकारको संरक्षणमा सबैपक्ष जागरुक हुनुपर्ने बताउनु भयो । कार्यक्रमका विशिष्ठ अतिथि प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले मानव अधिकारको संरक्षणमा सरकारी निकायबाट कुनै कसर बाकी नराख्ने बताउँदै इन्सेकसँग सधै सहकार्य गर्ने बताउनु भयो । कार्यक्रममा सभाध्यक्ष गर्नुहुने जिल्ला समन्वय समितिका उपप्रमुख बालकुमारी सापकोटाले ग्रामीण समुदायका महिला तथा बालवालिकाहरूले असङ्ख्य पीडा भोग्नु परेको बताउँदै मानव अधिकार संरक्षणमा सबै स्थानीय तहहरूको जागरुकता हुनुपर्नेमा जोड दिनुभयो ।
समीक्षा कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रमुख, अनुसन्धान कार्यालका प्रमुख, गैरसरकारी सङ्घ सस्थाका प्रतिनिधिहरू, पत्रकार तथा कानुन व्यवसायीहरूको सहभागिता रहेको थियो । जिल्लामा वर्ष भरि अभिलेख गरिएका ४३ ओटा घटनाहरू इन्सेक जिल्ला प्रतिनिधि नातिवाबुले कार्यक्रममा प्रस्तुत गर्नुभएको थियो । जिल्लामा अभिलेख भएका घटनाहरूमा गिरफ्तारी एक, पुनःगिरफ्तारी एक, जातीय भेदभाव दुई, कुटपिट तथा धम्की पाँच, व्यक्ति हत्या दुई, सञ्चार गृहमा तोडफोड एक, बाल अधिकार २१, महिला अधिकार आठ गरी ४३ ओटा रहेका छन् ।
नातिबावु धिताल