








दाङ । २०७८ असार २५ गते
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) दाङको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ का लागि जिल्लामा सङ्कलन गरिएका मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाहरूको सरोकारवालाबिच अर्धवार्षिक पूर्व समीक्षा कार्यक्रम असार २४ गते घोराहीमा सम्पन्न भएको छ । कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि जयनारायण पुनले सन् २०२१ जनवरीदेखि जुनसम्म जिल्लामा सङ्कलित मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाहरू समेटिएको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । जसमा खाद्य अधिकारसम्बन्धी एउटा, बहुविवाह एक, बन्द हड्ताल दुई ओटा, बेपत्ता एक, धम्की एक, कथित बोक्सीको आरोप एक, घरेलु हिंसा ३० ओटा, हत्या चार ओटा, हिरासतमा मृत्यु एक, गिरफ्तारी दुई ओटा, कुटपिट चार ओटा, बलात्कार, बलात्कार प्रयास र यौन दुर्व्यवहारका ६० ओटा गरी ६ महिनाको अवधिमा ९९ ओटा घटना समेटिएको तथ्याङ्क प्रस्तुत गर्नु भएको थियो ।
जिल्ला समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपालीले इन्सेकको अभिलेखले राज्यका निकायलाई काम गर्न मार्गदर्शनको काम गरेको बताउनु भयो । उहाँले अहिले पनि वर्गीय विभेद, जातीय विभेद जस्ता घटना हुनु लज्जाको विषय भएकोले यस्ता विषयलाई उजागर गर्ने काम इन्सेकले गरिरहेको बताउनु भयो । प्रेस काउन्सिल नेपालका सदस्य शरद अधिकारीले मानव वेचविखनका घटनालाई समेटन सुझाव दिनु भयो । मानव अधिकार सञ्जालका संयोजक केशवकुमार शर्माले इन्सेकले मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाका अभिलेखनलाई वर्षौंदेखि निरन्तरता दिइरहेको बताउँदै पुस्तकमा समेटिने सूचनालाई सत्य तथ्य बनाउन समीक्षाले मद्दत गर्ने बताउनु भयो । यसैगरी, कार्यक्रमका सहभागिहरूले नेपाल मानव अधिककार वर्ष पुस्तकले जिल्लाको मानव अधिकारको अवस्था उजागर गरेको बताउँदै सत्य तथ्य विवरणलाई मात्र पुस्तकमा समेट्न सुझाव दिएका थिए ।
जयनारायण पुन