नेपाल मानव अधिकार वर्ष पुस्तक २०२० अर्धवार्षिक पूर्व समीक्षा सम्पन्न

रौतहट । २०७८ असार २७ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) रौतहटको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक–२०२२ का लागि जिल्लामा सङ्कलन गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरूको अर्धवार्षिक समीक्षा असार २६ गते गरिएको छ । घटनाहरूको प्रकाशन पूर्व सरोकारवाला निकायबिच आयोजित कार्यक्रममा महिला अधिकारकर्मी देवकी नेपालले मानव अधिकारको समग्र क्षेत्रमा इन्सेकले विगत लामो समयदेखि नै कार्य गर्दै आइरहेको उल्लेख गर्नु हुँदै मानव अधिकार वर्ष पुस्तकले जिल्लाको मानव अधिकारको चिनारी दिने गरेको बताउनु भयो । पत्रकार सञ्जय कार्कीले आगामी दिनहरूमा मानव अधिकार वर्ष पुस्तकमा खाद्यान्न तथा स्वास्थ्यलगायत अधिकार हनन्का घटनाहरू पनि वर्ष पुस्तकमा राख्न सुझाव दिनु भयो । इलाका प्रहरी कार्यालय चन्द्रपुरका इन्स्पेक्टर अरविन्दकुमार साहले बालश्रमको मुद्दालाई पनि मानव अधिकार वर्ष पुस्तकमा समावेश गर्न सुझाव दिनु भयो ।

कुनै पनि घटनाको मुद्दा दर्ता भएपछि सो घटनाको पीडितको सुरक्षा आवश्यक रहेको उल्लेख गर्नुहुँदै उहाँले पीडितको न्याय पाउने अवस्थासम्म पुग्न अधिकारकर्मीहरूले मध्यस्थता गरी राख्नु पर्नेमा जोड दिनु भयो । इन्सेकले प्रकाशन गर्दै आएको नेपाल मानव अधिकार वर्ष पुस्तकमार्फत जिल्लाको मानव अधिकार अवस्था बारे जानकारी हुने गरेको चन्द्रपुर नगरपालिकाकी उपप्रमुख रामरती चौधरीले बताउनु भयो । जन्म दर्ता, नागरिकता, खाद्यान्न र स्वास्थ्यलगायतका विषय पनि वर्ष पुस्तकमा समावेश गर्न उहाँले सुझाव दिनु भयो । कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि कोपिला तिमल्सिनाले सन् २०२१ को जनवरीदेखि जुनसम्म जिल्लामा अभिलेख गरिएका २० ओटा मानव अधिकार उल्लङ्घनका घटनाको विवरण प्रस्तुत गर्नु भएको थियो । अभिलेखित घटना अनुसार बलात्कार घटनाका १०, बलात्कार प्रयासका तीन, बहुविवाहका चार, बालविवाह, कुटपिट र एसिड प्रहारका एक/एक घटना रहेका छन् ।

इन्सेक प्रदेश २ कार्यालय, जनकपुरधाम