नेपाल मानव अधिकार वर्ष पुस्तक अर्धवार्षिक पूर्व समीक्षा कार्यक्रम सम्पन्न

सप्तरी । २०७८ असार २७ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सप्तरीको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ का लागि जिल्लामा सङ्कलन गरिएको मानव अधिकार उल्लघङ्न र ज्यादतीका घटनाहरूको प्रकाशन पूर्व असार २७ गते राजविराजमा अर्धवार्षिक समीक्षा सम्पन्न गरिएको छ । इन्सेक सप्तरी प्रतिनिधि मनोहरकुमार पोखरेलका अनुसार सन् २०२१ को जनवरीदेखि जुनसम्मको अवधिमा महिला र बालबालिका हिंसाका घटना बढी अभिलेख गरिएको छ । इन्सेकको तथ्याङ्कमा ६ महिनाको अवधिमा ५५ ओटा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना सङ्कलन गरिएको छ । इन्सेक प्रतिनिधि मनोहरकुमार पोखरेलले प्रस्तुत गर्नु भएको प्रतिवेदन अनुसार यस अवधिमा डाक्नेश्वरी नपा–३ हटेलकी नौ वर्षीया शिवानीकुमारी यादवको बलात्कार गरी हत्या गरेको आरोपमा १९ वर्षीय छिमेकी रोहितकुमार यादव असार ६ गते गिरफ्तार भएको घटना निकै चर्चामा रह्यो । डाक्नेश्वरी नपा–३ हटेल पुवरीया टोलस्थित शिवनाथ यादवको फूलबारीमा पीडितको हँसियाले घाँटी काटेर हत्या गरेको अवस्थामा असार ४ गते शिवानीको शव फेला परेको थियो । पहिलो पटक मिर्गौला बेचबिखनको एउटा घटना बाहिर आएको छ । वैशाख २७ गते गिरफ्तार आरोपित सुरुङ्गा नपा–१ नैनडाबरका ३५ वर्षीय काले भनिने रमेश विश्वकर्मा मानसिक र शारीरिक रूपमा बिरामी रहेकाले जेठ ४ गते जमानीमा रिहा भएको प्रहरीले जनायो । प्रहरीका अनुसार मुख्य आरोपितको पहिचान खुलेको छैन ।

बालिका बलात्कारका १२ घटनामा ५ वर्षदेखि १७ वर्ष उमेर समूहका १३ जना पीडित भएका छन् । आरोपितमा १५ वर्षदेखि ७१ वर्ष उमेर समूहका १३ जना छन् । आरोपितमध्ये बुबासहित चार जना पुर्पक्षका लागि थुनामा छन्, ६ जना फरार, एक बालक अभिभावकको जिम्मामा र एक जना धरौटीमा रिहा भएका छन् । एउटा उजुरी दर्ता भएको छैन । महिला बलात्कारका ६ घटनाका आरोपितमा दुई जना फरार, दुई जना धरौटीमा र दुई जना जमानीमा रिहा भएका छन् । यो ६ महिनाको अवधिमा अन्यपक्षबाट दुई पुरुषको कुटपिटमा हत्या भयो । जसमा आठ जना पुरुष आरोपित रहे । आरोपितमध्ये एक घटनाका चार जना पुर्पक्षका लागि थुनामा छन् भने एउटा घटनाको अनुसन्धान भइरहेको छ । यो ६ महिनामा बाल यौन दुव्र्यवहारका तीन घटनाका आरोपितमध्ये एक जना बालसुधार गृहमा छन्, एक जना असार ८ गते गिरफ्तार भएका छन् भने एउटा उजुरी दर्ता छैन । १४ वर्षीया बालिकालाई अपहरण गरेको आरोपमा असार १५ गतेदेखि एक जना आरोपित थुनामा छन् । यो ६ महिनाको अवधिमा हुनै लागेको एउटा बालविवाह रोकिएको छ भने अर्को एक बालविवाहमा जेठ १६ गते पाँच जना आरोपितविरूद्ध म्यादी पुर्जी जारी भएको छ ।

महिला बलात्कार प्रयासका ६ घटनामा दुई जना धरौटीमा रिहा भए भने दुई जना गिरफ्तार भएका छैनन् र दुई जनाले उजुरी दिएनन् । एक महिलाको आत्महत्या दुरुत्सानमा उनका पति असार ७ गते ६० हजार रुपियाँ धरौटी राखी रिहा भए । बहुविवाहका चार ओटा घटनामा पाँच जना आरोपितविरूद्ध म्यादी पुर्जी जारी भएको छ भने तीन जना धरौटी राखी रिहा भएका छन् । एक महिलाको गर्भपतन गराएको आरोपमा जिल्ला अदालतले पाँच जनालाई जनही ३० हजार रुपियाँ धरौटी लिई पुर्पक्षका लागि रिहा गरेको छ । भौतिक संरचना, सम्पत्ति क्षति अन्तर्गत चार घटनामा दुई आरोपित धरौटीमा र एक जमानीमा रिहा भएका छन् । आरोपित एक जनालाई म्यादी पुर्जी जारी भएको छ भने पाँच जना गिरफ्तार भएका छैनन् । अन्य पक्षबाट यातनाका एक, थुनाका एक, कुटपिट/दुर्व्यवहारका चार, घरेलु हिंसाका पाँच घटना अभिलेख गरिएको छ । कार्यक्रममा प्रमुख जिल्ला न्यायाधीश चन्द्रमणी ज्ञवालीले आ–आफ्नो क्षेत्रबाट मानव अधिकार संरक्षणमा जिम्मेवार भूमिका निर्वाह गर्न इन्सेकले प्रेरित गरेको बताउनु भयो । मानव अधिकार हनन्का घटना कम गर्न तथा शीघ्र र सुलभ न्यायमा पहुँच पुर्‍याउन सबैको सतर्कता जरुरी रहेको ज्ञवालीले बताउनु भयो ।

प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले पदीय व्यक्तिमा आफूलाई विशेष ठान्ने मानसिकता र सर्वसाधारणमा चेतनाको अभाव ठूलो समस्याका रुपमा रहेको बताउनु भयो । सबै जना जनताप्रति जबाफदेही हुनुपर्ने भन्नुहुँदै उहाँले शिक्षा र चेतना तल्लो तहसम्म पुर्‍याउने आवश्यक्तामा जोड दिनु भयो । जनता सचेत नभएसम्म परिवर्तन असम्भव रहेको भन्नुहुँदै राजविराज नगर उपप्रमुख साधना झाले मानसिकतामा परिवर्तन नल्याई यथार्थ समस्या राखेर मात्र परिवर्तन नहुने दावी गर्नु भयो । श्रेस्तेदार कुुमार मास्केले निःशुल्क शिक्षा र स्वास्थ्य, सुरक्षा, स्वच्छ वातावरणमा बस्न पाउने र सुगम बाटोमा हिँड्न पाउने संवैधानिक हक कार्यान्वयनमा सरोकारवालको ध्यानाकृष्ट गर्नु भयो । जिल्ला न्यायाधिवक्ता कैलाश दाहाल, एसपी राजेन्द्रप्रसाद धमला, नागरिक समाजका अध्यक्ष थानसिंह भन्सालीले हिंसा नियन्त्रणका लागि समन्वय र सहकार्यका साथ सबैको भूमिकालाई प्रभावकारी बनाउनु पर्नेमा जोड दिनु भयो ।

इन्सेक प्रदेश २ कार्यालय, जनकपुरधाम