नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा सम्पन्न
कैलाली । २०७८ असार ३० गते
इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ का लागि सङ्कलन गरिएका घटनाको पुष्टि तथा पुर्नपुष्टि गर्ने उद्देश्यले सरोकारवालाबिचमा अर्धवार्षिक पूर्व समीक्षा कार्यक्रम असार ३० गते धनगढीमा सम्पन्न भएको छ । इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीका प्रमुख खडकराज जोशीले सन् २०२१ जनवरीदेखि जुनसम्मको अवधीमा कैलाली जिल्लामा सङ्कलन गरिएका १ सय ३९ ओटा मानव अधिकार तथा ज्यादतीसँग सम्बन्धीत घटनाको तथ्याङ्क प्रस्तुत गर्नु भएको थियो । जसमा घरेलु हिंसाबाट ८८, बलात्कारबाट २९, महिला बेचबिखनबाट तीन, बालिका बेचबिखनबाट तीन र यौनदुव्र्यवहारबाट आठ जना पीडित भएका र राज्य पक्षबाट पाँच जना पुरुष पीडित भएकोे उल्लेख गरिएको छ ।
जिल्ला सरकारी वकिल कार्यालयका सहायक न्यायधिवक्ता सुरबहादुर परियारले इन्सेकले सङ्कलन गरिएका घटनाहरु विश्वाशनिय, आधिकारीक र महत्वपूर्ण रहेको बताउँदै सङ्कलित घटनाहरुको निरन्तर अद्यावधिक गरी राख्नु पर्ने बताउनु भयो । जिल्ला प्रहरी कार्यालय, कैलालीका इन्स्पेक्टर खगेन्द्रसिंह साउदले इन्सेकले सङ्कलन गरेका घटनाहरुमा घटनाका आरोपितहरुको नाम उल्लेख गरिएकोले आरोप प्रमाणित नभएसम्मका लागि आरोपितहरुकोे साङ्केतिक नाम राख्नु पर्ने सुझाव दिनु भयो । राष्ट्रिय मानव अधिकार आयोग, धनगढीका मानव अधिकार अधिकृत प्रकृती सिंहले बालविवाह, बहुविवाह र पारिवारीक झैझगडाले महिलाहरु बढी पीडित हुने हुँदा कानुनी रुपमा कडा कारवाही हुनु पर्ने बताउनु भयो । ओरेक नेपालकी कार्याक्रम अधिकृत गीता चौधरीले सामाजिक तथा लैङ्गिक हिंसा र सामाजिक सञ्जालका घटनाहरु पनि गम्भिर प्रकृतिका हुने भएकाले यस्ता घटनाहरुको इन्सेकले अभिलेखिकरण गर्नु पर्ने सुझाव दिनु भयो ।
मैनामोती चौधरी