








सिरहा । २०७८ असार ३१ गते
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सिरहाको आयोजनमा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ को प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रम असार ३० गते लहानमा सम्पन्न भएको छ । इन्सेक जिल्ला प्रतिनिधि दुर्गा परियारले असार ३० गते आयोजित कार्यक्रममा सन् २०२१ को ६ महिनाको जिल्लाको मानव अधिकारको अवस्थाको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । प्रस्तुत प्रतिवेदनमा जिल्लामा ५२ ओटा मानव अधिकार हनन्का घटनाहरू सङ्कलन गरिएको थियो । जसमा राज्य पक्षबाट एक र अन्य पक्षबाट ५१ ओटा मानव अधिकार उल्लङघनका घटना रहेका छन् । बालिका बलात्कारका १७, यौन दुर्व्यवहारका ६, महिला बलात्कारका आठ, बलात्कार प्रयासका पाँच, बेचबिखनको एक, परिवारजनबाट हत्या तीन, कथित बोक्सीको आरोपका दुई, बहुविवाह चार, बम बिष्फोट एक लगायतका ५२ ओटा घटना भएको तथ्याङ्क प्रस्तुत गरिएको थियो ।
लहान नगरपालिकाकी उपपमुख सरियार चौधरीले महिला, बालबालिकाहरू बढी पीडित हुने गरेको र समाजमा घटना मिलाउन र दबाउन अगुवाहरू लागि पर्ने गरुेको आरोप लगाउनु भयो । इलाका प्रशासन कार्यालय लहानका प्रमुख कृष्णबहादुर खडकाले मानव अधिकारको संरक्षणको जिम्मेवारी सरकारको भएकाले मानव अधिकारको संरक्षणमा सरकार पन्छिन नमिल्ने बताउनु भयो । पहिलाको तुलनामा अहिले राज्य सजग भएकोले राज्यबाट हुने हनन्का घटनाहरूमा कमी आए पनि शुन्य हुन नसकेको उहाँले बताउनु भयो । इलाका प्रहरी कार्यालय लहानका डिएसपी डाक्टर तपनकुमार दाहालले घटनाहरूलाई आफूले गम्भीर रूपमा लिएको र सबैको सहकार्यमा मानव अधिकार उल्लङ्घनका घटनाविरुद्ध अभियान तीव्र रूपमा सञ्चालन गर्ने डिएसपी दाहालले बताउनु भयो ।
अधिकारकर्मी सुनिलकुमार साहले इन्सेकले प्रकाशन गर्ने नेपाल मानव अधिकार वर्ष पुस्तकले सबैलाई अबको काम गर्ने दिशा प्रदान गर्ने बताउनु भयो । इन्सेकले घटनाहरूको तथ्याङ्क मात्र प्रकाशन नगरेर घटनाको कारण, अवस्था र विश्लेषण गर्नु पर्ने सहभागीहरूको सुझाव छ । अधिकारकर्मी श्यामकुमारी साहले घरेलु हिंसाको तथ्याङ्क मात्र नराखेर घटनाहरू पनि राख्न जरुरी रहेको बताउनु भयो । मानव अधिकारकर्मी देवराज पोखरेलले नेपाल मानव अधिकार वर्ष पुस्तक मानव अधिकारको दस्तावेज भएको बताउनु भयो । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यक्तिहरूका लागि श्रोत पुस्तकको रूपमा वर्ष पुस्तक रहेको बताउँदै पोखरेलले नीति निर्माताहरूको लागि नीति बनाउन सहयोगी रहेकोसमेत उल्लेख गर्नु भयो ।
दुर्गा परियार