नेपाल मानव अधिकार वर्ष पुस्तक अर्धवार्षिक पूर्व समीक्षा सम्पन्न

नुवाकोट । २०७८ असार ३१ गते

नेपाल मानव अधिकार वर्षपुस्तक २०२२ मा समेटिने मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरूको अर्धवार्षिक पूर्वसमीक्षा असार ३१ गते सम्पन्न भएको छ । इन्सेक नुवाकोटको आयोजनामा विदुरमा भएको कार्यक्रममा जिल्ला सरकारी वकिलको कार्यालयका जिल्ला न्यायधिवक्ता टेकराज भुषालले जिल्लामा महिलामाथि हुने हिंसा र अपराधका घटनामा वृद्धि भइरहेको बताउनुभयो । उहाँले महिलामाथि हुने हिंसा विरुद्ध कानुनी र सामाजिक सचेतनाको खाँचो रहेको पनि बताउनुभयो । न्यायधिवक्ता भुषालले कानुनले नै पीडितको अधिकार संरक्षण गरेको उल्लेख गर्दै पीडितलाई न्यायमा सहज पहुँच र प्राप्तिको लागि आफ्नो कार्यालयले भूमिका खेलिरहेको समेत बताउनुभयो । जिल्ला अदालत बार इकाईका अध्यक्ष राजाराम थपलियाले कतिपय घटनाहरूमा जिम्वेवार निकायहरू प्रहरी कार्यालय र सरकारी वकिलको कार्यालयले गहन अनुषन्धान नगर्दा पीडितले न्याय पाउनबाट बञ्चित भएका बताउनु भयो । उहाँले जिम्मेवार व्यक्ति तथा निकायबाट राम्ररी अनुषन्धान गर्नु पर्नेमा जोड दिनु हुँदै राजनीतिक दबाबका कारण समेत कतिपय पीडितहरू न्यायिक पहुँचबाट बाहिर रहने गरेको समेत उल्लेख गर्नुभयो । नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य ध्रुवकुमार रावलले हिंसाका घटनाहरू न्युनिकरणको लागि मानव अधिकार र कानुनी पक्षबारे विद्यालयस्तरमा कानुनी सचेतनाको खाँचो रहेको बताउनुभयो ।

नेपाल पत्रकार महाङ्घका जिल्ला अध्यक्ष कपिलदेव खनालले इन्सेकले वर्षपुस्तक सार्वजनिक गरेको समयमा जिल्लाको छुट्टै प्रतिवेदन विस्तृत रुपमा हरेक जिल्लामा सार्वजनिक गर्ने परिपाटीको थालनी गर्नु पर्ने बताउनुभयो । यसले जिल्लाको मानव अधिकारको अवस्थाको वास्तविक तस्वीर बाहिर ल्याउनको लागि मद्दत पुग्ने अध्यक्ष खनालको धारणा थियो । कार्यक्रममा मानव अधिकार एलायन्सका अध्यक्ष गोकर्ण नेपाल, डेमोक्रेटिक लयर्स एसोसिएसनका उपाध्यक्ष कृष्णलाल श्रेष्ठ, अधिकारकर्मी निरु परियार, पत्रकार श्रीराम नेपाल लगायतले मानिसलाई मानव अधिकारको बारेमा विस्तृत जानकारी दिनको लागि कानुनी सचेतनाको खाँचो रहेकोमा जोड दिनु भएको थियो । सहभागी वक्ताहरूले कानुनको जानकारी र मानिसमा चेननाको अभिवृद्धि गर्न सकिएमा अधिकार उलङ्घनका घटनामा कमी आउने विस्वास व्यक्त गरेका थिए । कार्यक्रममा जिल्लामा शैक्षिक, स्वास्थ्यको क्षेत्रमा कोभिडले पारेको असर र पछिल्लो ६ महिनामा भएको बलात्कार, बलात्कार प्रयास, यौन दुव्र्यवहार, हत्या, बहुविवाह लगायतका घटनाको बारेमा इन्सेकका जिल्ला प्रतिनिधिले जानकारी दिनुभएको थियो । जिल्लामा पछिल्लो ६ महिनामा बलात्कार, बलात्कार प्रयास, यौन दुव्यर्वहार, हत्या, बहुविवाहका गरी १६ ओटा घटना इन्सेकले अभिलेख गरेको छ ।

नवदीप श्रेष्ठ