नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ को अर्धवार्षिक पूर्वसमीक्षा सम्पन्न
रामेछाप । २०७८ असार ३१ गते
इन्सेकद्वारा प्रकाशित हुने मानव अधिकार वर्षपुस्तकको पूर्वसमीक्षा तथा रामेछापको सन् २०२१ को जनवरीदेखि जुनसम्मको पहिलो ६ महिनाका मानव अधिकारको अवस्थाको समीक्षा कार्यक्रम ०७८ असार ३१ गते मन्थलीमा सम्पन्न भएको छ । मानव अधिकार संरक्षण सञ्जाल रामेछापका संयोजक पाण्डव प्रसाईँको अध्यक्षता तथा इन्सेक र मानव अधिकार संरक्षण सञ्जाल रामेछापको आयोजनामा भएको कार्यक्रममा बोल्दै जिल्ला न्यायाधिवक्ता यदुनाथ शर्माले जिल्लामा घरेलु हिंसाका घटना बढेको भन्दै चिन्ता व्यक्त गर्नुभयो ।
उहाँले मानवअधिकार उल्लङ्घनका घटना कम गर्न राज्य, मानव अधिकारकर्मी, आम नागरिक तथा सरोकारवाला समेतको भूमिका रहने बताउनुभयो । सङ्ख्यात्मका रूपमा घटना कम हुँदैमा मानव अधिकार उल्लङ्घन नभएको नहुने बताउँदै उहाँले इन्सेकलाई त्यसतर्फ सचेत हुन आग्रह गर्नुभयो । कार्यक्रममा रामेछापका प्रहरी प्रमुख डीएसपी नवराज ढुङ्गानाले नेपाल प्रहरी मानव अधिकारको सवालमा संवेदनशील रहेको बताउनुभयो । ढुङ्गानाले कुनै पनि घटनामा प्रहरीले करकापमा मिलाउने काम बन्द गरेको बताउनुभयो । कार्यक्रममा सन् २०२१ को पहिलो ६ महिनामा मानव अधिकार उल्लङ्घनका १३ ओटा घटना अभिलेखीकरण भएको इन्सेकका जिल्ला प्रतिनिधिले जानकारी दिनुभएको थियो । सङ्कलन गरिएका घटनामध्ये अधिकांश महिला हिंसा र बलात्कारका घटना रहेका छन् ।
नबराज पथिक