नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रम सम्पन्न
हुम्ला । २०७८ साउन १ गते
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ का लागि सङ्कलन गरिएका मानव अधिकारसँग सम्बन्धित घटनाहरूको अर्धवार्षिक पूर्व समीक्षा कार्यक्रम ०७८ असार ३१ गते जिल्ला समन्वय समितिको हलमा सम्पन्न भएको छ । सिमकोट गाउँपालिका अध्यक्ष पदमबहादुर लामाको अध्यक्षता र प्रमुख जिल्ला अधिकारी गणेश आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधिद्वारा ०७७ पुस १७ गतेदेखि ०७८ असार १६ गतेसम्मको अवधिमा सङ्कलन गरिएका मानव अधिकारसँग सम्बन्धित घटनाहरू प्रस्तुत गरिएको थियो । जसमा सम्मानित रूपले बाँच्न पाउँने अधिकारसँग सम्वन्धित तीन ओटा, स्वास्थ्य तथा शिक्षा अधिकारको एउटा, बलात्कार, बलात्कार प्रयास र यौन दुर्व्यवहारका चार ओटा घटनाहरू प्रस्तुत गरिएको थियो । गाउँपालिका अध्यक्ष लामाले सङ्कलन गर्न छुटेका घटनालाई समेट्न इन्सेकलाई आग्रह गर्नुभयो ।
यस्तै प्रमुख जिल्ला अधिकारी आचार्यले मानव अधिकारका घटना कम हुनु भनेको सुखद पक्ष भएको भन्दै कोभिडको चुनौतीले पनि घटनाहरू कम जानकारीमा आएको हुन सक्नेमा जोड दिनुभयो । गम्भिर प्रकृतिका घटनामा संलग्न भएका व्यक्तिहरूको नाम उल्लेख गर्दा पीडित र पीडकहरूलाई समस्या आउन सक्ने भएकोले इन्सेकले आगामि दिनमा छलफल गर्दा नाम उल्लेख नगर्ने अभ्यास गर्नुपर्ने डीएसपी हेरम्ब शर्माले सुझाव दिनुभयो । प्रहरीसम्म आइ पुगेका जस्ता सुकै घटनाहरूलाई पनि प्रहरीले अभद्र व्यवहार भन्न नमिल्ने बैतनिक वकिल राजन चन्दले बताउनु भयो । उहाँका अनुसार घटनाको प्रकृति अनुसार मुद्दा दर्ता गर्नु पर्छ । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय महिला सेलका इन्चार्ज मिनु आलेले यो वर्ष महिला सम्वन्धिका घटना कम मात्रामा आएको र न्यूनीकरणका लागि सवैको भूमिका रहनु पर्ने बताउनु भयो ।
नन्द सिंह