नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा सम्पन्न
रुपन्देही । २०७८ साउन २ गते
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) रुपन्देहीको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ को सरोकारवालाहरूबिच अर्धवार्षिक समीक्षा असार ३१ गते बुटवलमा सम्पन्न भएको छ । कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि रीमा बिसीले रुपन्देही जिल्लामा ६ महिनामा सङ्कलन गरेका घटनाहरू प्रस्तुत गर्नु भएको थियो । जिल्लामा सन् २०२१ जनवरीदेखि जुनसम्म ६ महिनाको अवधिमा २ सय ७२ ओटा मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाहरु अभिलेख गरेको छ । जसमध्ये महिला बलात्कार र बलात्कार प्रयासका १७ ओटा, बालिका बलात्कार, बलात्कार प्रयास र यौन दु्र्व्यवहारका ३४ ओटा, मानव बेचविखन तथा ओसार पसार एउटा, परिवारजनबाट हत्या तीन ओटा, बहुविवाहका दुई ओटा र घरेलु हिंसाका २ सय १५ ओटा घटना रहेका छन् ।
कार्यक्रममा बोल्दै राष्ट्रिय मानव अधिकार आयोग लुम्बिनी प्रदेशका निमित्त प्रमुख सन्तोष आचार्यले मानव अधिकारको सङ्रक्षण र प्रबद्र्धनमा नेपाल मानव अधिकार वर्ष पुस्तक महत्वपूर्ण दस्तावेज भएको बताउनु भयो । आचार्यले इन्सेकले वर्ष पुस्तकमा अक्सिजन नपाएर मृत्यु भएका नागरिकहरूको घटनालाई पनि समेटनु पर्ने सुझाव दिनु भयो । गैरसरकारी संस्था महासंघ नेपालका उपाध्यक्ष सुमित्रा शर्माले मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनामा कमि आएको जस्तो देखिएता पनि घरेलु हिंसाका घटना अझै बाहिर आउन नसकेको बताउनु भयो । नेपाल पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष अमृता अनमोलले मानव अधिकार वर्ष पुस्तकमा स्थानीय न्यायिक समितिमा आएका घटनाहरूको पनि अभिलेख राख्न सुझाव दिनु भयो ।
रीमा बिसी