नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ प्रकाशन पूर्व वार्षिक समिक्षा कार्यक्रम सम्पन्न

मुस्ताङ । २०७८ मङ्सिर २० गते

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ प्रकाशन पूर्व वार्षिक समिक्षा कार्यक्रम मुस्ताङमा मङ्सिर १७ गते सम्पन्न गरिएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यालयको आयोजनामा सम्पन्न गरिएको कार्यक्रममा मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले सबैलाई न्यायको प्रत्याभूति हुनपर्ने बताउनुभयो । उहाँले इन्सेक लगायतका मानव अधिकारसँग सम्बन्धित निकायले आम नागरिकले अधिकार पाए की पाएनन बारे अनुगमन गर्नुपर्ने बताउनुभयो ।

‘वर्ष पुस्तकले विषयमा समेटने क्षेत्र फराकिलो बनाउनपर्ने हुन्छ ।’–उहाँले भन्नुभयो– ‘अधिकारबाट वञ्चित भएका वर्गको आवाज तथ्याङ्क सहित समेट्दा राम्रो हुन्थ्यो ।’ जिल्ला प्रहरी कार्यालय मुस्ताङका डिएसपी रामकुमार दानीले जिल्ला भित्र भएका महिला तथा बालबालिका माथिका हिंसाको अवस्थाको बारेमा जानकारी दिदै जिल्लामा मानव अधिकार उल्लङ्घनका घटना बढदै गएको बताउनुभयो ।

अपाङ्ग सङ्घ मुस्ताङका अध्यक्ष आइतेलाल थकालीले पहिला भएको महिला बालबालिका कार्यालयमा अपाङ्गता हेर्ने छुट्टै शाखा र फोकल पर्सन हुँदा आफूहरूलाई सहज भएको भएपनि त्यो कार्यालय खारेजी हुँदा अपाङ्गहरूलाई कठिनाई भएको बताउनुभयो । उहाँले इन्सेक जस्ता सामाजिक सङ्घसंस्थाले यसबारेमा उचित आवाज उठाइ सहयोग गर्नुका साथै यो तथ्यलाई वर्ष पुस्तकमा पनि समावेस गरिदिएमा राज्यको निकाय सम्म पुग्ने बताउनुभयो ।

इन्सेकको अभिलेख अनुसार जनवरी २०२१ देखि हालसम्म मुस्ताङमा दुई जना बालिका बलात्कारको घटनाबाट पीडित भएका छन् ।कार्यक्रममा मानवअधिकार वर्ष पुस्तक २०२१ जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय र जिल्ला अदालतलाई हस्तान्तरण गरिएको थियो ।

अमृतप्रसाद पौडेल