नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ प्रकाशन पूर्व वार्षिक समीक्षा सम्पन्न

सोलखुम्बु । २०७८ मङ्सिर २५ गते

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ का लागि जिल्लामा अभिलेखीकरण गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामाथि सरोकारवालाबिच समीक्षा गरिएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) सोलुखम्बुले मङ्सिर २४ गते आयोजना गरेको नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रममा जिल्लामा सन् २०२१ को जनवरीदेखि नोभेम्वरसम्म ११ महिनाको अवधिमा गरिएका घटनाहरूमाथि समीक्षा गरिएको छ । समीक्षामा इन्सेक प्रतिनिधिले जिल्लामा अघिल्लो वष २९ ओटा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना अभिलेखीकरण गरिएकोमा यस वर्ष ११ महिनाको अवधिमा ४८ ओटा मानव अधिकारसँग जोडिएका घटनाहरू अभिलेखीकरण गरेको बताउनु भयो ।

यस वर्ष जिल्लामा महिला अधिकारका घटना २० ओटा, आत्महत्या दुरूत्साहनको एक ओटा, भौतिक संरचनामा क्षतिका दुई ओटा, कुटपिट तथा धम्कीका १० ओटा, बालअधिकारका आठ ओटा र घरेलु हिंसाका सात ओटा घटना अभिलेखीकरण गरिएको इन्सेकले जनाएको छ । इन्सेक प्रतिनिधिले समीक्षामा प्रस्तुत गरेको प्रतिवेदनमा शिक्षित परिवारबाट श्रमशोषणमा परेकी सात वर्षीया बालिकालाई इन्सेकको सहकार्यमा जिल्ला प्रहरी र प्रशासन कार्यालयले उद्धार गरी एसओएस बालग्राम इटहरी पठाइएको, सोताङका आफ्नै बुबाबाट शारीरिक तथा मानसिक यातानाबाट पीडित भएका १६ वर्षीय बालकको उद्धार गरिएको उल्लेख गरिएको छ ।

समीक्षा कार्यक्रममा बोल्दै जिल्ला प्रहरी कार्यालयका डिएसपी कवित कटुवालले नेपाल प्रहरीले मानव अधिकारलाई पहिलो प्राथमिकतामा राखी कार्य सम्पादन गर्दै आएको बताउनु भयो । उहाँले जो कोही आरोपितलाई हिरासतमा राख्दा मानवीयताका आधारमा व्यवहार गर्न गराउनको लागि बारम्बार प्रहरी कर्मचारीलाई निर्देशन दिने गरेको र पीडित पक्षबाट प्रहरीमा आएको उजुरी तत्काल कार्यान्वयमा लगिएको बताउनु भयो । समीक्षामा प्रमुख जिल्ला अधिकारी गणेश बिक्रम शाहीले गम्भीर प्रकृतिको घटनामा संलग्न भएका आरोपितलाई तत्काल कानुनी दायरामा ल्याउने सवालमा मानव अधिकार उल्लङ्घन भएको आरोप लाग्ने गरेको भन्दै यस्ता घटनामा गहिरिएर अध्ययन गरी अभिलेख राख्न इन्सेक प्रतिनिधिलाई सुझाव दिनुभयो । उहाँले मानव अधिकार रक्षा गर्ने सवालमा इन्सेकले जिल्लामा खेलेको भूमिकाको प्रशंसा गर्नुभयो । प्रमुख जिल्ला अधिकारी शाहीले राज्यपक्ष र गैहृराज्य पक्षलाई समेत सचेत गराउने काममा इन्सेक पहिलो स्थानमा रहेको बताउनु भयो ।

सोलुदूधकुण्ड नगरपालिका न्यायिक समिति संयोजक कल्पना राईले सामाजिक मान्यताका कारण नगन्य मात्रमा महिला हिंसाको घटना बाहिर आउने गरेको बताउनु भयो । उहाँले महिला र बाल अधिकारका घटनालाई बाहिर ल्याउनको लागि इन्सेकलगायतका संस्थाले सूक्ष्मढङ्गले अध्ययन गरी घटना बाहिर ल्याउन आवश्यक रहेको बताउनु भयो । कार्यक्रममा अधिकारकर्मी,पत्रकारलगायतको सहभागिता रहेको थियो ।

Photo 20211212 Solu (1) Photo 20211212 Solu (2) Photo 20211212 Solu (3)

भोजराज कार्की