नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ प्रकाशन पूर्व वार्षिक समीक्षा सम्पन्न

संखुवासभा । २०७८ मङ्सिर २६ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) सङ्खुवासभाको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ का लागि वार्षिक समीक्षा कार्यक्रम सम्पन्न गरिएको छ । जिल्लामा अभिलेखीकरण गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामाथि मङ्सिर २६ गते सरोकारवालाबिच समीक्षा गरिएको हो । इन्सेक सङ्खुवासभाले आयोजना गरेको वार्षिक समीक्षा कार्यक्रममा जिल्लामा सन् २०२१ को जनवरीदेखि नोभेम्वरसम्म ११ महिनाको अवधिमा अभिलेख गरिएका घटनाहरूमाथि समीक्षा गरिएको छ ।

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ का लागि जिल्लामा अभिलेखीकरण गरिएका घटनामा बाल अधिकार र महिला अधिकारविरूद्धका घटनामा वृद्धि भएको तथ्याङ्क सार्वजनिक गरिएको छ । समीक्षामा कार्यक्रममा इन्सेक प्रतिनिधिले जिल्लामा अघिल्लो वर्ष ३६ ओटा मानव अधिकार उल्लङ्न तथा ज्यादतीका घटना अभिलेखीकरण गरेकोमा यस वर्ष ११ महिनाको अवधिमा ६३ ओटा मानव अधिकार उल्लङ्न तथा ज्यादतीका घटना अभिलेखीकरण गरिएको बताउनु भयो । यस वर्ष जिल्लामा बाल अधिकारका २१ ओटा, महिला अधिकारका आठ ओटा,हत्याका सात ओटा,घरेलु हिंसाका २२ ओटा, कुटपिटका तीन ओटा र बहुविवाह दुई ओटा घटना अभिलेखीकरण गरिएको इन्सेकले जनाएको छ ।

इन्सेकको अभिलेखमा बालिका सबै भन्दा पीडित भएको उल्लेख छ । यस वर्ष ११ महिनाको अवधिमा २१ जना यौनजन्य घटनामा पीडित भएको अभिलेख छ । मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना अभिलेख राख्ने र घटना लीपिवद्ध गर्दै पुस्तक मार्फत अभिलेख राख्ने इन्सेक मात्रै भएको जिल्ला समन्वय समितिका प्रमुख सुमन शाक्यले बताउनु भयो । उहाँले अहिलेको अवस्थामा समाजमा भएका महिला बालबालिकाहरू माथि भएका  घटना उजागर गर्न इन्सेकले महत्वपूर्ण भूमिका खेलेको बताउनु भयो ।

प्रमुख शाक्यले हिंसा बढेको भएपनि भौतिक हिंसा जिल्लामा कम भएको बताउनु भयो । मानव अधिकार रक्षा र खवरदारीका लागि इन्सेकले जिल्लामा महत्वपूर्ण भूमिका खेलेको प्रमुख शाक्यको भनाइ छ । प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडाले इन्सेकले अभिलेख गरेका घटनामा थप सुधार गर्दे न्यायको पहुँचमा नभएको घटना बाहिर ल्याउन इन्सेकले भूमिका खेल्न आवश्यक भएको बताउनु भयो । उहाँले इन्सेकले जिल्ला भित्र भएका घटनाको चित्रण गरेको बताउनु भयो ।

प्रमुख जिल्ला अधिकारी खतिवडाले इन्सेकले अभिलेख गरेका घटनाले समग्र जिल्लाको मानव अधिकार अवस्थाको सन्देश दिएको बताउनु भयो । उहाँले प्रहरी र न्यायिक समितिमा नआएका घटनाहरू इन्सेकको अभिलेखमा समेट्न आग्रह गर्नुभयो । समीक्षामा नेपाल पत्रकार महासङ्घका सङ्खुवासभाका अध्यक्ष इन्द्र गिरीले समीक्षाले महत्वपूर्ण छलफल गरेर सुझाव समावेश गर्नु पर्ने बताउनु भयो । उहाँले मानव अधिकारको क्षेत्रमा इन्सेकले सत्यतथ्य घटनालाई उजागर गर्ने काममा कहिल्यै कमी नहुने गरी काम गर्न सुझाव दिनु भयो । समीक्षा कार्यक्रममा जिल्ला कारागारका प्रमुख जलेर विनोद अधिकारी, उद्योग वाणिज्य सङ्घका प्रथम उपाध्यक्ष कृष्णभगत प्रधान, गैरसरकारी संस्था महासङ्घका अध्यक्ष विनोद गुरुङ, पत्रकारलगायत सरोकारवालाहरूको उपस्थिती रहेको  थियो ।

Photo 20211212 Sangkhuwasabha (1)

Photo 20211212 Sangkhuwasabha (2)

Photo 20211212 Sangkhuwasabha (3)

Photo 20211212 Sangkhuwasabha (4)

भविन कार्की