नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ को प्रकाशन पूर्व वार्षिक समीक्षा सम्पन्न

सुर्खेत । २०७८ मङ्सिर २९ गते

रूकुम पश्चिम प्रतिनिधि मनिषा केसीका अनुसार नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ का लागि रूकुम पश्चिममा सङ्कलन गरिएका घटनाहरूको पुनर्पुष्टिका लागि ०७८ मङ्सिर २७ गते समीक्षा गरिएको छ । कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि मनिषा केसीले २०२१ जनवरीदेखि हालसम्म सङ्कलन गरिएका ५८ ओटा घटनाहरू समेटिएको प्रतिवेदन सार्वजनिक गर्नुभएको थियो ।

जसमा नागरिक तथा राजनैतिक अधिकार अन्तर्गत गिरफ्तार १, धम्की कुटपिट अन्य पक्षबाट ५, राज्य पक्षबाट १ र अमानविय व्यवहार १ घटना रहेका थिए । त्यस्तै बाल अधिकार अन्तर्गत बलात्कार, बलात्कार प्रयास तथा यौन दुर्व्यवहारका १२ वटा घटनाहरू समेटिएका थिए । महिला अधिकार अन्तर्गत हत्या अन्य पक्षबाट १, परिवारजनबाट हत्या १, बलात्कार, बलात्कार प्रयास तथा यौन दुर्व्यवहार ५, घरेलु हिंसा २१, सामाजिक हिंसा १ र बहु विवाहका ९ घटनाहरू प्रतिवेदनमा उल्लेख थियो ।

कार्यक्रममा बोल्दै निमित्त प्रमुख जिल्ला अधिकारी प्रमेश शिवाले इन्सेकले मानव अधिकार वर्ष पुस्तकमार्फत मानव अधिकार हनन्का घटनामा सार्वजनिक गरेर समग्र देशको मानव अधिकारको अवस्था स्पष्ट पार्ने गरेको बताउनुभयो । साथै उहाँले पुस्तकमा मानव अधिकार उल्लङ्घन र ज्यादतिका घटनाहरू छुट्याएर राख्दा राम्रो हुने सुझाव दिनुभयो ।

जिल्ला अदालतका श्रेस्तेदार सरिता रिजालले घटनाहरूमा छुटेका विवरण अद्यावधिक गर्न सुझाव दिनुभयो । जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर डेकेन्द्र शर्माले इन्सेकले वार्षिक र अर्ध वार्षिक रूपले गर्ने पूर्व समीक्षाले घटना विवरणलाई दुरूस्त राख्न मद्दत पुगेको बताउनुभयो । जिल्लामा हुने मानव अधिकार हनन्का घटना न्यूनीकरणमा सबै सरोकारवालाहरू मिलेर काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

त्यस्तै गैसस महासंघ रूकुम पश्चिमका अध्यक्ष नारायणकुमार शाहले इन्सेकले वर्षपुस्तक प्रकाशन गरेर मानव अधिकार हनन्का घटना अभिलेखिकरण गर्ने काममा अब्बल सावित भएको धारणा राख्नुभयो । साथै उहाँले जिल्लामा मानव अधिकार उल्लङ्घनका घटना न्यूनीकरणका लागि सचेतना मूलक कार्यक्रमसमेत सञ्चालन गर्न सुझाव दिनुभयो ।

जिल्ला बार इकाई रूकुम पश्चिमका अध्यक्ष गणेश हमालले इन्सेक रूकुमले घटना अभिलेखमा राम्रो काम गरेको र पीडितका पक्षमा निरन्तर पैरवी गरेकोले यसलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो ।  कार्यक्रममा जिल्ला स्थित अधिकारकर्मी, पत्रकार लगायत २९ जनाको उपस्थिति  रहेको थियो ।

कालीकोट प्रतिनिधि कालीबहादुर मल्लका अनुसार नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ को प्रकाशन पूर्व समीक्षा कार्यक्रम मङ्सिर २७ गते कालिकोट जिल्लाको सदरमुकाम मान्ममा सम्पन्न भएको छ ।

कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि कालीबहादुर मल्लले सन् ०२१ जनवरीदेखि डिसेम्वरसम्म घटेका घटनाहरू सहितको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । यस अवधिमा गिरफ्तारका घटना तीन, अन्य पक्षबाट धम्कीको घटना एक, महिला विरूद्ध हुने घटनामा हत्या दुई, बलात्कारका आठ, बोक्सीको आरोपमा कुटपिट एक, घरेलु हिंसाका पाँच र जातीय भेदभावको एउटा घटना गरी जम्मा २० वटा घटनाको वारेमा सरोकारवालाबीच समीक्षा गरिएको थियो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्य, जिल्ला बार एसोसिएशनका प्रतिनिधि दमनराज बमले मानव अधिकार वर्ष पुस्तकलाई अझ सत्य, तथ्य र निश्पक्ष बनाउन इन्सेक प्रतिनिधिले थप मिहिनेत गर्नु पर्नेमा जोडदिनु भयो । उहाँहरूले पीडितलाई राहत, न्याय र पीडकलाई दण्डित बनाउन मानव अधिकार बर्ष पुस्तकले महत्वपूर्ण भूमिका खेलेको बताउनु भयो ।

यस्तै जिल्ला प्रहरी कार्यालयका डिएसपी सिद्धराज न्यौपानेले केहि घटनाहरू अद्यावधिक गर्न पर्ने भएकाले सरोकारवाला कार्यालयमा जानु पर्ने र जिल्ला प्रहरी कार्यालय सहयोग गर्न तयार रहेको बताउनु भयो ।समीक्षा कार्यक्रममा जिल्ला  न्यायधिवक्ता, पत्रकार, मानव अधिकारकर्मी, कानून व्यवसायी, सूरक्षा निकायका प्रमुख लगायतको सहभागिता  रहेको थियो ।

दैलेख प्रतिनिधि अमर सुनारका अनुसार दैलेख जिल्ला अदालतका न्यायाधीश दण्डपाणी लामिछानेले समाज लुकेको सबै घटना सार्वजनिक हुन सके अपराध नियन्त्रणमा सहयोग पुग्ने बताउनु भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले मङ्सिर २८ गते नेपाल मानव अधिकार वर्ष पुस्तकका लागि सन् २०२१ जनवरीदेखि सङ्कलन गरेको मानव अधिकार हनन् तथा ज्यादतीका घटना सम्वन्धि वार्षिक पूर्व समीक्षा कार्यक्रममा बोल्दै उहाँले सो विचार राख्नुभएको हो ।

न्यायाधीश लामिछानेले चेतनाको अभावमा समाजमा व्याप्त घरेलु हिंसा रोकथाम गर्न सचेतनाका कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने भएको औल्याउँदै स्थानीय सरकारको अग्रसरता जरूरी रहेको बताउनुभयो । जिल्ला सरकारी वकील कार्यालयका जिल्ला न्यायाधिवक्ता हरिप्रसाद घिमिरेले न्यायिक प्रक्रियामा गइसकेका घटनाहरूमा पनि आरोपितहरूको परिवारहरूलाई हतोत्साहित पार्ने गलत प्रवृति बिरूद्ध सञ्चार माध्ययमहरूले बोल्नुपर्ने आवश्यकता दर्शाउनुभयो ।

यसैगरी डिएसपी भुवनेश्वर साहले इन्सेकले सङ्कलन गर्ने तथ्याङ्क सरकारका निकायसँग भरपर्दो तरिकाले पुनर्परीक्षण गरेर मात्र प्रकाशन गर्नुपर्ने सुझाव दिनुभयो । कार्यक्रममा महिला तथा बालबालिका सेवा केन्द्रका कार्यक्रम संयोजक रमा श्रेष्ठले अपराध पीडितहरूलाई होष्टाइल गराउने परम्परा बसेको कारण पीडितहरू थप पीडित हुने गरेको दुःखेसो गर्नुभयो । दैलेख उद्योग बाणिज्य संघका महासचिव राजेश हमालले भोकै बस्नु परेका, औषधि नपाएको, बालबालिकाका जन्मदर्ता नपाएका घटनाहरू पनि समेट्नुपर्ने सुझाव दिनुभयो ।

मानव अधिकार रक्षक सञ्जालका संयोजक विशाल सुनारको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला सरकारी वकील कार्यालयका जिल्ला सहायक न्यायाधिवक्ता रूक्मेडा पोखरेल, पत्रकार अभिसेक अनुराग लगायतले सुझावहरू राख्नुभएको थियो । पूर्वसमीक्षा कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि अमर सुनारले सन् २०२१ जनवरीदेखि सङ्कलन गरिएका मानव अधिकार हनन् तथा ज्यादतीका ९९ वटा घटनाहरू जानकारी गराउनु भएको थियो ।
दैलेखमा सबै भन्दा धेरै २८ वटा बलात्कार, १७ वटा बहुविवाह, ११ वटा हत्या, ११ जना अमानवीय व्यवहार, १० ओटा जटिल प्रकारका घरेलु हिंसा, ७ वटा यौन दुर्व्यवहार, ६ वटा बालविवाह, ३ वटा आत्महत्या दुरूत्साहन, ३ वटा जातीय विभेद, २ वटा ज्यानमार्ने उद्योग र एउटा मानव बेचविखन घटना समेत ९९ वटा घटना सङ्कलन गरेको इन्सेकले जनाएको छ ।

सल्यान प्रतिनिधि मिना बुढाथोकीका अनुसार नेपाल मानव अधिकार वर्ष पुस्तक ०२२ का लागि अभिलेखीकरण गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामाथि सरोकारवालाबीच समीक्षा कार्यक्रम सल्यान सदरमुकाम खलङ्गामा मङ्सिर २६ गते सम्पन्न भएको छ ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सल्यानले आयोजना गरेको नेपाल मानव अधिकार वर्ष पुस्तक ०२२ प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रममा जिल्लामा सन् २०२१ को जनवरीदेखि नोभेम्वरसम्मका घटनाहरू प्रस्तुत गर्नु भएको थियो ।यस अवधिमा सबै भन्दा बढी बालिका बलात्कारका १९, बहु विवाहका ८, घरेलु हिंसाका ५, बोक्सी आरोपका १, बलात्कारका ५, बलात्कार प्रयासका १, कुटपिटका २, कुटपिट तथा घरनिकाला ४, बालविवाह १, बालिका बेचविखनका १, यौन दुव्र्यवहार २, हत्याका ६ ओटा र कारागारमा मृत्यु १ ओटा गरी जम्मा ५६ ओटा घटना अभिलेखीकरण गरिएको प्रतिवेदनमा उल्लेख छ ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी लक्ष्मी देवी हुमागाइँले इन्सेकले प्रस्तुत गरेको अभिलेखीकरणमा अधिकाँश कुराहरू समावेश गरेको बताउनुभयो । आफूहरूले पनि विभिन्न समयमा ज्यादती तथा अन्य घटनाहरूका विषयमा फोनमार्फत परामर्श गर्ने गरेपनि अभिलेखीकरण गर्न नसकेका कारणले उपलब्धी देखाउन नसकेको उहाँको भनाइ थियो ।  ‘हामीहरू पनि यस्ता कामहरू त गर्छौं तर, टिपोट र अभिलेखीकरण गर्ने बानीको विकासमा धेरै सुधार गर्नु पर्ने देखिन्छ’ प्रजिअ हुमागाइँले भन्नुभयो ।

जिल्ला अदालत सल्यानका श्रेस्तेदार हेमन्त ज्ञवालीले मानव अधिकार उल्लङ्घन न्यूनीकरणमा सबैको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । अदालतबाट हुने सेवा प्रवाह पनि मानव अधिकार मैत्री भएकाले अधिकार संरक्षण गर्न अदालत सक्रिय भएर लागेको बताउनुभयो । यस्तै सरकारी वकील कार्यालयका प्रमुख जयप्रसाद धितालले कुना कन्दरामा पुगेर घटना अभिलेखीकरण गर्नु र पीडितलाई न्यायको पहुँचसम्म पु¥याउन निकै चुनौती रहेको बताउनुभयो । यस्तो अवस्थामासमेत इन्सेकले दुर्गम स्थानमा पीडामा परेकोहरूलाई परामर्श र अभिलेखीकरण गरी रहेको भन्दै प्रशंसा व्यक्त गर्नुभयो ।

जिल्ला प्रहरी कार्यालय सल्यानका इन्स्पेक्टर श्यामप्रकाश यादवले प्रहरीले मानव अधिकारको पूर्ण प्रत्याभूति दिलाउन आफूहरू लागि परेपनि विभिन्न समयमा प्रहरीले मानव अधिकार उल्लङ्घन गरेको कुरा बाहिर आउने गरेको बताउनुभयो । जिल्ला कारागार सल्यानका प्रमुख जेलर बलबहादुर केसीले इन्सेकले सार्वजनिक गर्ने गरेको यस्तो तथ्याङ्कले जिल्लामा आगामी दिनमा मानव अधिकार हनन् र ज्यादतीका घटना न्यूनीकरण सम्बन्धी अभियान चलाउन सहज हुने बताउनुभयो । उहाँले कुन ठाउँमा कस्ता घटना भएका छन भन्ने विषय पनि प्रष्ट रूपमा आएकाले यस तथ्याङ्कले आगामी दिनमा योजना बनाउनसमेत थप मद्दत पुग्ने बताउनुभयो ।

महिला मानव अधिकार रक्षक सञ्जाल सल्यानका अध्यक्ष सोविता बस्नेतले पछिल्लो समय मदिरा सेवन तथा बैदेशिक रोजगारीले समेत हिंसाका घटनाहरू बढ्दै गएकाले यस तर्फपनि सबै सरोकारवालाहरूको ध्यान जानु पर्ने बताउनुभयो ।पत्रकार महासंघ सल्यानका उपाध्यक्ष सरिता चलाउनेले न्यायिक समितिहरूको काम प्रभावकारी ढङ्गले सञ्चालन हुन नसकेका कारण ग्रामिण क्षेत्रमा लैङ्गिक हिंसाका घटनाहरू बाहिर आउन नसकेको बताउनुभयो ।

जाजरकोट प्रतिनिधि दिनेशकुमार श्रेष्ठका अनुसार अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) जाजरकोटको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ को पूर्व समीक्षा कार्यक्रम सदरमुकाम खलङ्गामा मङ्सिर २९ गते सम्पन्न भएको छ ।

कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि दिनेशकुमार श्रेष्ठले जनवरी २०२१ देखि हालसम्म जिल्लामा घटेका मानव अधिकार उल्लङ्घनका घटना मध्ये बलात्कार र बलात्कार प्रयासका ११, हत्याका २, कुटपिट तथा घरेलु हिंसामा १३, बहु विवाहका २ र अभद्र व्यवहारका २ ओटा घटनाको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । जिल्ला अदालत जाजरकोटका अधिकृत सुशिल आचार्यले मानव अधिकार उल्लङ्घनका घटना हुन नदिन नागरिकलाई सचेतना गराउनु पर्नेमा जोड दिनुभयो । इन्सेकले प्रत्येक वर्ष पुस्तकका रूपमा प्रकाशन गर्ने गरेको अभिलेखले आफूलाई मानव अधिकारको क्षेत्रमा नेपालमै अग्रणी संस्थाको रूपमा स्थापित गरेको बताउनु भयो ।

कार्यक्रममा गैर सरकारी संस्था महासंघ जाजरकोटका सचिव सहदेब बस्नेतले इन्सेकले मानव अधिकारका क्षेत्रमा गरेका कामको स्रहाना गर्दै वर्ष पुस्तकलाई अझै उत्कृष्ट बनाउन सरोकारवालाले वर्ष पुस्तकका लागि आवश्यक तथ्याङ्गहरू उपलब्ध गराई सहयोग गर्नु पर्ने धारणा राख्नुभयो । त्यसै गरी एम्नेस्टी इन्टरनेशनल नेपाल जाजरकोटका अध्यक्ष राजेन्द्र कार्कीले वर्ष पुस्तकका लागि जिल्लागत विवरणमा विगतको तुलनामा घटनाहरू कम समेटिएको र पुस्तक विस्तारै पातलो हुँदै गएकोमा नेपालमा मानव अधिकारका घटनामा कमी आएको हो वा घटना भएर पनि नसमेटिने गरेको भन्ने बारेमा जिज्ञासा राख्नुभयो । साथै उहाँले  नेपालको मानव अधिकारको क्षेत्रमा पुस्तकालयको रूपमा चिनिएको इन्सेकले वर्ष पुस्तक प्रकाशनमा कञ्जुस्याँई गर्न नहुने पनि धारणा राख्नुभयो ।

इन्सेक कर्णाली प्रदेश कार्यालय, सुर्खेत ।