नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ प्रकाशन पुर्व वार्षिक समीक्षा सम्पन्न
बाँके । २०७८ पुस ९ गते
इन्सेक नेपालगञ्जको आयोजनामा पुस ८ गते नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ को प्रकाशन पूर्व वार्षिक समीक्षा सम्पन्न गरिएको छ । कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोग नेपालञ्जका प्रमुख झङ्कर रावलले अहिलेको समयमा वर्ष पुस्तकमा शिक्षा, स्वास्थ्य र खाद्यको विषयलाई बढी प्राथमिकता दिनु पर्ने बताउनु भयो । उहाँले जिल्लामा न्यायिक समितिले कसरी काम गरेका छन् भन्ने विषयलाई पनि उल्लेख गर्न आवश्यक रहेको बताउनु भयो ।
जिल्ला प्रशासन कार्यालय बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दिर्घराज उपाध्यायले महत्वपुर्ण घटनाहरूलाई समेटेर लैजानुपर्ने बताउँदै समन्वयमा रहेर काम गरे कुनैपनि घटना नछुट्ने बताउनु भयो । उहाँले कारागार र बाल सुधार गृहको अवस्था सुधार्न लागि परेकोसमेत बताउनु भयो । जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी श्याम अधिकारीले सबै सरकारी र गैरसरकारी सङ्घसंस्थाहरूले समन्वय गरेर ग्रामीण क्षेत्रमा पुगेर त्यहाँ भएका हिंसाका घटना बाहिर ल्याउन र न्यायिक प्रकृयामा जान सहयोग पु¥याउन आवश्यक रहेको बताउनु भयो । उहाँले मानव अधिकार वर्ष पुस्तक प्रकाशन गर्न आवश्यक सहयोग गर्ने बताउनु भयो ।
इन्सेकका साधारण सदस्य कृष्णमुरारी प्रसाद भट्टले मानव अधिकार वर्ष पुस्तक परिमार्जन गर्नलाई सबैले सहयोग गर्न आग्रह गर्नु भयो । बाल सुधार गृहकी परामर्शकता विमला काउचा मगरले बाल सुधार गृहमा क्षमताभन्दा बढी बालकहरू भएकाले व्यवस्थापनमा कठिनाई आएको बताउनु भयो । उहाँले मुद्दाहरूको फैसला समयमा नै नभएको कारण निर्दोष बालकहरूले पनि सजाय भोगिरहेको बताउँदै यस्ता समस्या समाधान गर्न सबै एकजुट हुनुपर्ने बताउनु भयो ।
कार्यक्रममा इन्सेक लुम्बिनी प्रदेश कार्यालयकी कार्यक्रम अधिकृत सरस्वती मल्लले इन्सेकले वर्ष पुस्तकमा समेटिएका घटनालाई पुष्टि र पुनःपुष्टि गर्नको लागि कार्यक्रमको आयोजना गरिएको बताउँदै पुस्तकलाई अझ प्रभावकारी बनाउनको लागि सरोकारवाला सबैको सल्लाह, सुझाव र समन्वयको आवश्यकतामा जोड दिनु भयो । जिल्ला प्रतिनिधि स्मृति देवकोटाले जिल्लामा सङ्कलन गरिएका बाल अधिकार उल्लङ्घन अन्तर्गत बलात्कार तथा यौन दुर्व्यवहारका ११ ओटा, महिला अधिकार उल्लङ्घन अन्तर्गत बलात्कार तथा यौन दुर्व्यवहारका नौ ओटा, परिवारजनबाट हत्याका तीन ओटा, घरेलु हिंसाका ८० ओटा, स्वास्थ्य अधिकारका दुई ओटालगायत १ सय ५ ओटा घटना रहेको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।
अनलाइन डेस्क