नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ प्रकाशन पूर्वसमीक्षा सम्पन्न
बाजुरा । २०७७ मङ्सिर २५ गते
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बाजुराको आयोजना नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ को प्रकाशन पूर्वसमीक्षा गोष्ठी मङसिर २५ गते जिल्ला सदरमुकाम मार्तडीमा सम्पन्न भएको छ । पूर्वसमीक्षा गोष्ठीमा इन्सेक जिल्ला प्रतिनिधि पदमबहादुर सिंहले सन् २०२० जनवरीदखि डिसेम्बर १० सम्म सङ्कलन गरेका ४० ओटा घरेलु हिंसा, ६ ओटा बलात्कार, चार ओटा बलात्कारको प्रयास, २१ ओटा लैङिगक हिंसा र आठ
ओटा हत्याका घटना गरी ७९ ओटा मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाहरुको पुर्नपुष्टि गर्ने उद्देश्यले जिल्लास्थित सरोकारावालाबीच प्रस्तुत गर्नु भएको थियो । पूर्वसमीक्षा गोष्ठीमा बडिमालिका नगरपालिकाका प्रमुख पदम बडुवालले मानव अधिकारको संरक्षण गर्नका लागि स्थानीय तहमा जनचेतना जगाउनु पर्ने बताउँदै यसका लागि जनप्रतिनिधिहरुको महत्वपूर्ण भुमिका रहने बताउनु भयो । मानव अधिकार रक्षक सञ्जाल, बाजुराका अध्यक्ष निमेन्द्र शाहीले इन्सेकले प्रकाशन गर्दै आएको नेपाल मानव अधिकार वर्ष पुस्तकलाई तथ्यपरक र विश्वासनिय बनाउन ग्रामिण तहमा हुने मानव अधिकार उल्लङ्घनका घटनाहरुलाई पनि समावेश गर्न सुझाव दिनु भयो ।
जिल्ला प्रहरी कार्यालय, बाजुराका इन्स्पेक्टर बलेन्द्र नाथले घरेलु हिंसा नियन्त्रण तथा सजाय ऐनमा रहेको मेलमिलापसम्बन्धी व्यवस्था अनुसार घरेलु हिंसाका घटनामा मिलापत्रलाई प्राथामिकता दिनु परेको बताउँदै जिल्लामा प्रहरी र इन्सेकको सहकार्यले गाउँबाट बाहिर आउन नसकेका घटनाहरु समेत सतहिकरण हुँन गएकाले प्रहरीलाई अनुसन्धानमा सहयोग पुगेको बताउनु भयो । गैरसरकारी संस्था महासंघ, बाजुराका प्रतिनिधि अग्नि शाहीले इन्सेकले आगामी दिनमा आर्थिक, सामाजिक तथा सास्कृतिक अधिकारसँग सम्बन्धित घटनाहरुलाई समेत वर्ष पुस्तकमा समावेश गर्न सुझाव दिनु भयो । कार्यक्रममा सरकारी तथा गैर सरकारी संस्थाका प्रमुख तथा प्रतिनिधि, महिला तथा दलित अधिकारकर्मी, पत्रकार लगायतको सहभागिता रहेको थियो ।
पदमबहादुर सिंह