पत्रकारसँग मानव अधिकारका सवालमा छलफल
सुनसरी । २०७८ पुस १३ गते
अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) प्रदेश १ कार्यालयको आयोजनामा मानव अधिकारका सवालमा सञ्चारकर्मीसँग छलफल कार्यक्रम पुस १३ गते सम्पन्न गरिएको छ । कार्यक्रममा नेपाल पत्रकार महासङ्घ प्रदेश १ का अध्यक्ष लिलाबल्वभ घिमिरेले पत्रकार तथा मानव अधिकार रक्षकको सुरक्षा र संरक्षण राज्यको दायित्व भएको बताउनु भयो । अध्यक्ष घिमिरेले पत्रकारहरूको काम समाचार लेख्ने, अन्यायमा परेकाहरूलाई न्यायको पहुँचमा पुर्याउने र सूचना प्रवाह गर्ने भएको बताउनु भएको छ । इन्सेक प्रदेश प्रमुख सोमराज थापाले मानव अधिकार रक्षकहरू सरकारको विरोधी नभएर सहयोगीको रूपमा काम गर्ने हुँदा मानव अधिकार रक्षकको सुरक्षा र संरक्षणको जिम्मा राज्यले लिनुपर्ने बताउनु भयो । उहाँले मानव अधिकारका सवालमा सञ्चार माध्ययमा कसरी उठान गर्ने भन्ने विषयमा पत्रकारसँग छलफल गरिएको बताउनु भयो ।
नेपाल पत्रकार महासङ्घका प्रदेश सचिव सन्तोष यादवले सबै पत्रकार मानव अधिकार रकक्ष भएको बताउनु भयो । उहाँले पत्रकारले पेशाप्रति इमान्दारिताका साथ काम गर्न सकेको खण्डमा सुरक्षाको अभाव खेप्न नपर्ने बताउनु भयो । नेपाल पत्रकार महासङ्घ सुनसरीका अध्यक्ष जनकऋषि राईले मानव अधिकारकर्मीहरूले प्रत्यक्ष नागरिकसँग काम गर्ने हुँदा विभिन्न चुनौती र समस्या भोग्नुपर्ने भएकाले समग्र मानव अधिकारको क्षेत्रमा काम गर्ने पत्रकार र मानव अधिकारकर्मीहरूको सुरक्षाको ग्यारेण्टी राज्यले गर्नुपर्ने बताउनु भयो । नेपाल पत्रकार महासङ्घ मोरङका अध्यक्ष सञ्जीव खनालले इन्सेकले प्रदेशमा मानव अधिकारकर्मीहरू र नागरिकको अधिकारको पक्षमा समेत वकालत गर्ने काम गरेको बताउनु भयो । पत्रकार विकल रेग्मीले पत्रकारिता र अधिकारको क्षेत्रमा काम गर्दा कर्तव्य पनि बिर्सिन नहुने बताउनु भयो ।
कार्यक्रममा नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य अमर खड्काले देशभरको पत्रकारको सुरक्षा तथा धम्की आक्रमणको घाटनाको बारेमा चर्चा गर्नुहुँदै पत्रकारको सुरक्षा र संरक्षणमा राज्यले ध्यान दिनुपर्ने बताउनुभयो । खड्काले पत्रकारको पेशागत र भौतिक सुरक्षा प्रति नेपाल पत्रकार महासङ्घ गम्भीर भएको बताउनु भयो । पत्रकार पीवी दियालीले मानव अधिकारको सवालप्रति सरकार गम्भिर हुनुपर्ने बताउनु भयो । जातीय विभेद पीडित नारायण परियारले आफूलाई न्याय नभएको, सुरक्षा र संरक्षणमा राज्यले वेवास्ता गरेको गुनासो गर्नुभयो । कार्यक्रममा श्रीलङ्काटापुबासी प्रकाश चन्द्रवंशीले राज्यको पहुँचमा नागरिक नभएको र नागरिकको पहुँचमा राज्यको सेवा नभएको बताउनु भयो । पत्रकार सुभद्रा प्याकुरेलले इन्सेकको कार्यक्रम पत्रकारका लागि प्रभावकारी भएको बताउनु भयो । उहाँले राज्यका प्रतिनिधि र गैरसरकारी संस्था तथा पत्रकारसहितको वृहत कार्यक्रमहरू गरेर मानव अधिकारका सवालमा छलफल गर्न आवश्यक भएको बताउनु भयो । कार्यक्रममा इन्सेक प्रदेश कार्यालयका प्रलेख अधिकृत पुण्य अधिकारीले प्रदेश १ को मानव अधिकारको अवस्था र तथ्याङ्क प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा जिल्लाभरीका ४५ जना बढी पत्रकारको सहभागिता रहेको थियो ।
जयकृष्ण यादव