परियोजनाको प्रभाव तथा मानव अधिकार अवस्था अनुगमन सम्पन्न
कैलाली । २०७८ असार ११ गते
इन्सेक सुदुरपश्चिम प्रदेश कार्यालय,धनगढी, राष्ट्रिय मानव अधिकार आयोग,धनगढी र पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशको सयुक्त टोलीले इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीद्धारा कैलाली र कञ्चनपुर जिल्लामा सञ्चालित परियोजनाको प्रभाव र जिल्लाको मानव अधिकार अवस्थाको जानकारी लिन असार ९ र १० गते अनुगमन गरेको छ । कैलाली र कञ्चनपुरका स्थानीय तहमा आर्थिक, समाजिक तथा सांस्कृतिक अधिकारको अवस्था, स्थानीय तहका नीति तथा कार्यक्रम, सेवा प्रवाहको अवस्था, इन्सेकले सञ्चालन गरेका कार्यक्रमको प्रभावकारीता र जिल्लाको मानव अधिकारको अवस्थाका सम्बन्धमा जानकारी लिन सयुक्त रुपमा अनुगमन गरिएको इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीका संयोजक खडकराज जोशीले बताउनु भयो ।
कोभिड—१९ माहामारीका कारण समस्यामा परेका गौरिगंगा नगरपालिका– १ माघि शिविरका अतिविपन्न परिवारलाई खाद्य सामग्री वितरण गरिएको र सोही नगरपालिका– ३ कालिका शिविरकी २५ वर्षीया एकल महिला माता कोलीको घर निर्माण गर्न १ लाख १४ हजार रुपियाँ सङ्कलन गरी घर निर्माण गरिएको मानव अधिकार समुहकी सचिव सरस्वति सापकोटाले अनुगमन टोलीलाई बताउनु भयो । कोभिड—१९ माहामारीले प्रभाबित भएका व्यक्तिहरुलाई सहयोग गर्न र टिकापुर क्षेत्र डुबानको उच्च जोखिममा रहेकाले पूर्वतयारी गर्न सबै वडा कार्यालयहरुसँग समन्वय भइरहेको इलाका प्रशासन कार्यालय, टिकापुरका अधिकृत महेसबहादुर बमले इन्सेक नेतुत्वको अनुगमन टोलीलाई बताउनु भयो ।
कृष्णपुर नगरपालिकामा रहेका दिर्घ रोगीहरुलाई कोभिड—१९ माहामारीमा समस्या नपरोस भनेर नगरस्तरीय मानव अधिकार समुहको पहलमा नगरपालिकाले निशुल्क औषधि वितरण गरेको मानव अधिकार समुहका अध्यक्ष जयलाल साउदले अनुगमन टोलीलाई बताउनु भयो । कोभिड—१९ महामारीको कारण लामो समयसम्म विद्यालय, क्याम्पस बन्द हुँदा यूवा तथा विद्यार्थी लागु औषधको कुलतमा लाग्ने गरेको, समूदायमा बलात्कारका घटनामा बृद्धि भएको र कोभिड—१९ सङ्क्रमण समुदायमा फैलिएपछि सङ्क्रमितलाई समाजबाट तिरस्कार गर्ने कार्यहरु भएको कञ्चनपुर जिल्ला मानव अधिकार रक्षक सञ्जालका अध्यक्ष उद्धवराज भट्टले अनुगमन टोलीलाई जानकारी दिनु भयो ।
अनुगमन कै क्रममा कञ्चनपुर जिल्ला मानव अधिकार रक्षक सञ्जालका पदाधिकारीहरुलाई कोभिड माहामारीमा काम गर्न सहज होस भन्नका लागि ५ सय ५० ओटा एन नाइन्टिफाइभ मास्क, ११ ओटा थर्मोमिटर, ११ ओटा पल्सअक्सिमिटर, ११ ओटा फेससिल्ड र सेनिटाइजर उपलब्ध गराइएको इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीका संयोजक खडकराज जोशीले बताउनु भयो ।
मैनामोती चौधरी