परियोजना अभिमुखिकरण तथा सञ्जाल गठन सम्पन्न

दैलेख । २०७८ माघ २४ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालय सुर्खेतले दैलेखमा मानव अधिकार सवाल प्रबद्र्धन गर्न दुल्लू नगरपालिका र आठबीस नगरपालिकामा स्थानीय अधिकारकर्मी र सामाजिक अभियन्ताहरूको नेतृत्वमा चार ओटा मानव अधिकार रक्षक सञ्जाल गठन गरेको छ । ‘अधिकार-२ परियोजना’ अन्तरगत मानव अधिकारका विभिन्न क्षेत्रलाई एकीकृत रूपमा उपेक्षित, उत्पीडित र पिछडिएको जाति, वर्ग, क्षेत्र र समुदायको न्यायको निम्ति पहल कदमी गर्ने मुख्य उद्देश्यले दुइ ओटै नगरपालिकामा भौगोलिक अनुकुलता हुने गरी दुई–दुई ओटा सञ्जाल गठन गरिएको हो ।

माघ २० गते दुल्लूमा वडा नम्बर ५, ६, १०, ११, १२ र १३ बाट प्रतिनिधित्व गर्दै गीता सुनारको संयोजक र नैनसिंह बिश्वकर्मा सहसंयोजक रहेको ७ सदस्यीय मानव अधिकार रक्षक सञ्जाल गठन भयो । सोहि दिन वडा नम्बर १, २, ३, ४, ७, ८ र ९ समेत ६ ओटा वडाको ‘ख क्लष्टर’मा कलमबहादुर नेपाली संयोजक र मोतिकला कार्की सहसंयोजक रहेको ९ सदस्यीय मानव अधिकार रक्षक सञ्जाल गठन गरिएको छ । इन्सेकले माघ २१ गते आठबीस नगरपालिकामा ‘अधिकार–२ परियोजना’ अभिमुखिकरणपछि दुई ओटा मानव अधिकार रक्षक सञ्जाल गठन गरेको छ ।

 

वडा नम्बर १, २, ३, ४ र ८ अन्तरगत बिमल बोहराको संयोजकत्वमा ७ सदस्यीय सञ्जाल गठन गरेको छ भने वडा नम्बर ५, ६, ७ र ९ समेटेर पवित्रा थापा संयोजकत्वमा अर्को सञ्जाल गठन गरिएको छ । दुल्लूमा भएको कार्यक्रममा दुल्लू नगरपालिकाका उपमेयर बिष्णुकुमारी थापाले कमजोरहरूको न्यायको निम्ति मानव अधिकार क्षेत्रमा अनुभवी संस्था इन्सेकले परियोजना सञ्चालन गर्न लागेकोमा खुशी प्रकट गर्दै नगरपालिका सधैं सहयोगीको रूपमा रहने बताउनुभयो । आठबीसमा भएको ‘अधिकार–२ परियोजना’ परिचय कार्यक्रममा उपमेयर दीपा बोहराले प्रहरी–प्रशासन लगायतको राज्य संयन्त्र, राजनीतिक दल र कतिपय जनप्रतिनिधि समेत पीडकको संरक्षणमा जुट्ने गलत प्रचलनका कारण पीडितको न्याय कमजोर बनेको टिप्पणी गर्नुभयो ।

दुई ओटै कार्यक्रममा ‘अधिकार–२ परियोजना’का कार्यक्रम संयोजक किरण पौडेल, कार्यक्रम अधिकृत परिस्कृत पौडेल, इन्सेकको इएलपी कार्यक्रमका कर्णाली प्रदेश फोकल पर्सन दुर्गा थापाले इन्सेकले गरिरहेका मानव अधिकार सबलीकरण अभियान र परियोजाले गर्ने कामबारे प्रकाश पार्नुभएको थियो । मानव अधिकारका स्थानीय सवालहरू लैंगिक हिंसा, जातीय विभेद, छाउपडी प्रथा, कथित बोक्सी आरोप जस्ता कुरीति हटाउनुसँगै अपाङ्गता समस्या भोगेकाहरू, बालबालिका र ज्येष्ठ नागरिकहरूलाई प्रबद्र्धनका निम्ति नागरिक स्तरबाट अगुवाइ गर्न मानव अधिकार रक्षक सञ्जालको क्षमता विकासमा परियोजनाले सघाउने बताइएको छ । इन्सेकले ‘अधिकार–२’ परियोजना कर्णाली प्रदेशका १० ओटै जिल्लामा लागू गरे पनि दैलेखको दुल्लू नगरपालिका, आठबीस नगरपालिका र सुर्खेतको बीरेन्द्रनगर नगरपालिकामा समुदाय स्तरमा मानव अधिकार प्रबद्र्धनका कार्यक्रमहरू हुनेछन् ।

अमर सुनार