पीडितको न्यायलाई सरकारले उचित रूपमा सम्बोधन गर्छः उपप्रधानमन्त्री पौडेल
ललितपुर । २०८१ साउन १६ गते
उपप्रधान तथा अर्थ मन्त्री विष्णु पौडेलले नेपाल सरकारले द्वन्द्व पीडितको न्याय मर्न नदिने प्रतिबद्धता जनाउनु भएको छ ।
३२ औं प्रकाश स्मृति दिवसको अवसरमा ०८१ साउन १६ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले आयोजना गरेको ३० औं प्रकाश मानव अधिकार पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री पौडेलले पीडितहरूको न्यायको मागलाई सरकारले उचित रूपमा सम्बोधन गर्ने प्रतिबद्धता जनाउनु भएको हो ।
नेपाली समाजले एउटा पीडादायी द्वन्द्व भोगेको स्मरण गर्दै अर्थमन्त्री पौडेलले देश द्वन्द्वबाट बाहिर निस्किएको २० वर्ष पुग्नै लागे पनि द्वन्द्वको घाउ अझै बाँकी नै रहेको बताउनुभयो । ‘ द्वन्द्व अन्त्य भएको छ, शान्ति स्थापना भएको छ तर अझै पनि द्वन्द्वका घाउ निको भएका छैनन’, उहाँले भन्नुभयो ।
उहाँले पीडितको पक्षपोषण हुने गरी शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याउने बताउनु भयो । सरकार त्यही दिशामा अघि बढेको उहाँको भनाइ थियो । ‘नेपाल सरकार पीडितको न्यायको पक्षमा रहेको छ’, उपप्रधान एवम् अर्थ मन्त्री पौडेलले भन्नुभयो ।
नेपाली समाजले अनपेक्षित, अनावश्यक, अनुचित द्वन्द्वको सामना गर्नुपरेको पौडेलले बताउनुभयो । नेपालले समयसम्म बोझका रूपमा सम्झिरहने द्वन्द्व भोग्नु परेको उहाँको भनाइ छ । शान्ति प्रक्रियाका बाँकी कामलाई छिटो टुङ्ग्याउनु पर्छ भन्ने कुरामा सरकार दृढ रहेको उहाँले बताउनुभयो ।
पौडेलले मानव अधिकारको आन्दोलन निरन्तर चलिरहने आन्दोलन भएको बताउनु भयो । समय अनुसार यसको स्वरूप मात्र फरक हुने अर्थमन्त्री पौडेलले स्पष्ट पार्नुभयो ।
इन्सेकले यस वर्षको प्रकाश मानव अधिकार पुरस्कार सङ्क्रमणकालीन न्यायका लागि सङ्घर्षरत काभ्रेको नमोबुद्ध नगरपालिका दाप्चाकी ६२ वर्षीया पूर्णिमाया लामा तामाङलाई प्रदान गरेको छ । पूर्णीमायाका पति अर्जुन लामालाई माओवादीले २०६२ साल वैशाख १६ गते अपहरण गरी बेपत्ता बनाएका थिए ।
इन्सेकका संस्थापक महासचिव प्रकाशराज काफ्लेको स्मृतिमा इन्सेकले उक्त पुरस्कार २०५० सालमा स्थापना गरेको हो । पुरस्कार राशी ५० हजार रुपैँयाँ रहेको छ ।
इन्सेकका संस्थापक महासचिव काफ्लेको २०४९ साल साउन १६ गते नुवाकोटको घोप्टेभिरमा भएको थाई एयर दुर्घटनामा निधन भएको थियो । नेपालको मानव अधिकार र सामाजिक न्यायको अभियानमा काफ्लेको महत्त्वपूर्ण योगदान रहेको छ ।
इन्सेकका संस्थापक अध्यक्ष एवम् राष्ट्रिय मानवअधिकार आयोगका पूर्व आयुक्त सुशील प्याकुरेलले इन्सेकका तत्कालीन महासचिव प्रकाश काफ्लेको २०४९ साल साउन १६ गते थाइ एयरलाइन्सको हवाई दुर्घटनामा नुवाकोटको घोप्टेभिरमा असामयिक स्वर्गारोहण भएको उल्लेख गर्दै प्रकाश मानवअधिकार पुरस्कारका लागि विभिन्न व्यक्तिको रोष्टरबाट छनौट समितिले पूर्णिमाया लामालाई छनौट गर्न पाउदा शक्तिसङ्ग लडेर न्यायको अभियान निरन्तर अघि बढ्नुले उहाँलाई पुरस्कृत गर्नु उपयुक्त भएको प्रष्ट पार्नुभयो ।
उहाँले न्याय, समानता, कानुनी राज्यको लागि भएको पूर्णिमायाको लडाई सबैलाई प्रेरणाको स्रोत भएको बताउनु भयो । उहाँले सङ्क्रमणकालीन न्यायलाई तार्किक निश्कर्षमा पु¥याउन आह्वान गर्नुभयो ।
राष्ट्रिय मानव अधिकार आयोगका सदस्य लिली थापाले मानव अधिकार रक्षकको रोस्टरका लागि खोजी गर्दा निकै कठिन भएको स्मरण गर्दै इन्सेकले विशिष्ट व्यक्तिको खोजि, छनौट र पुरस्कृत गरेकोमा खुशी व्यक्त गर्नुभयो ।
उहाँले मानवअधिकारकर्मी कसलाई भन्ने भन्नेबारे स्पष्ट अवधारणा विकास गर्नुपर्ने खाँचो औल्याउँदै राजनीतिक भाषामा नअल्झिकन न्यायका लागि राष्ट्रिय मानवअधिकार आयोगले गरेको सिफारिस कार्यान्वयन गरी पीडितलाई राहत र क्षतिपूर्ति नदिएको प्रति सरकारको ध्यानाकर्षण गर्नुभयो ।
पुरस्कार छनौट समिति सदस्य डाक्टर उषा झाले पुरस्कार छनौट कार्यमा सहकार्य गर्दा आफुलाई भाग्यमानी ठानेको बताउनु भयो । उहाँले पुरस्कारको लागि ५० भन्दा बढी व्यक्तिको नामबाट छान्ने प्रक्रियामा पूर्णिमाया लामा तामाङले आफ्नो अधिकार र कर्तब्यकारुपमा गरेको योगदान मानव अधिकारकर्मिका लागि उदाहरणीय कार्य भएकोले उहाँको लडाइँमा अब थप साथ पाउने अपेक्षा गर्नुभयो ।
उहाँले काभ्रेको दाप्चामा रहेर पति अर्जुनबहादुर लामाको हत्या घटनाको विषयमा न्यायका लागि निरन्तर सङ्घर्ष गर्दै आउनु भएकी लामाले पीडितलाई संगठित गर्दै द्वन्द्व पीडित बिच एकताबद्ध भइ न्याय प्राप्ति हुने विश्वास गर्नुभयो ।
पुरस्कृत व्यक्तित्व पूर्णिमाया लामाले पति अर्जुन लामालाई २०६२ वैशाख १६ गते तत्कालीन माओवादीले अपहरण गरी लगेको र लास वा सास केही पनि नबुझाएको उल्लेख गर्दै अर्जुन लामाको सम्बन्धमा सत्य, तथ्य कुरा बाहिर ल्याइ पीडकलाई कानुनी कारबाही हुनुपर्नेमा जोड दिनुभयो । उहाँले अर्जुन लामाको यथार्थ अवस्थाबारे जानकारी पाउने आशा राख्नुभयो ।
इन्सेकका अध्यक्ष डाक्टर कुन्दन अर्यालले सङ्क्रमणकालीन न्यायको प्रक्रियालाई पीडितले न्याय पाउने सुनिश्चित गरी तार्किक निश्कर्षमा पुर्याउनुपर्नेमा जोड दिनुभयो । इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतमले सञ्चालन गर्नु भएको कार्यक्रममा इन्सेकले प्रकाशन आरम्भ गरेको “साउथ एशियन ह्युमन राइट्स जर्नल” समेत उपप्रधान तथा अर्थ मन्त्री विष्णु पौडेलले विमोचन गर्नु भएको थियो ।
दीपकप्रसाद घिमिरे