पीडितको सहायता प्रभावकारी बनाउन सबैको सहयोग आवश्यक : न्यायाधीश लम्साल

दैलेख । २०७९ माघ २७ गते

जिल्ला न्यायाधीश बलराम लम्सालले आर्थिक अभावकै कारण न्याय पाउने अवसरबाट कोही बञ्चित हुन नपरोस् भनेर सरकारले विभिन्न क्षेत्र र माध्यमबाट कानूनी सहायता पु¥याइरहेको बताउनु भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले दैलेख सदरमुकाममा आयोजना गरेको पीडितहरुको न्यायमा पहुँच अभिबृद्धि सम्वन्धी अन्तरक्रिया कार्यक्रममा उहाँले अदालतबाट दिइएको वैतनिक कानून अधिकृत र प्रदेश सरकारले कानूनी सहायता अधिकारी समेत व्यवस्था गरेबाट एकै मुद्दामा दुवै पक्षले आर्थिक अभावमा सहायता लिनपर्ने अवस्थामा निशुल्क कानूनी सेवा पाइरहेको प्रष्ट्याउनुभयो । कार्यक्रममा जिल्ला सरकारी वकील कार्यालय दैलेखका इञ्चार्ज जिल्ला न्यायाधिवक्ता कर्णबहादुर महतले प्रहरी र सरकारी वकील कार्यालय पीडितको न्यायमा काम गर्ने गरिरहेको बताउनुभयो । त्यसबखत दैलेखका प्रहरी प्रमुख डिएसपी किशोर लम्सालले अपराध नियन्त्रणमा नागरिकहरुको सहयोग अझैं बढाउनुपर्ने आवश्यकता औल्याउनु भयो ।

 

नेपाल बार एशोससियसनका जिल्ला अध्यक्ष ललित थापाले उजूरी गर्ने पीडित नै होला भन्ने बिश्वास गर्न नसकिने भन्दै प्रहरी अनुसन्धान र न्यायिक निकाय सजग रहनुपर्ने सुझाव दिनुभयो । अधिकार-२ परियोजनाद्वरा गठित मानव अधिकार रक्षक सञ्जालका संयोजक बिशाल सुनारको अध्यक्षतामा भएको कार्यक्रममा दैलेख जिल्ला अदालतका श्रेस्तेदार उपसचिव इन्द्रबहादुर कार्की, जिल्ला कानूनी सहायता अधिकारी लेखनाथ केसी, अधिवक्ता सुरेन्द्र अधिकारी, शिक्षक केशव भण्डारी, पत्रकारहरु यज्ञराज थापा, बिष्णु शर्मा लगायतले न्याय प्रशासनमा देखिएका समस्या समाधान सवाल विषयमा धारणा राख्नुभएको थियो ।

अमर सुनार