पीडितहरूको न्यायको सवाल विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
बाँके । २०८१ साउन २ गते
अन्तर्राष्ट्रिय न्याय दिवसको अवसरमा पीडितहरूको न्यायको सवाल विषयक अन्तरक्रिया कार्यक्रम ०८१ साउन २ गते नेपालगञ्जमा सम्पन्न भएको छ ।
राष्ट्रिय मानव अधिकार आयोग, शाखा कार्यालय नेपालगञ्ज, मानव अधिकार सञ्जालको संयुक्त आयोजना र इन्सेक लगायत विभिन्न सङ्घ संस्थाहरूको समन्वयमा भएको कार्यक्रममा मानव अधिकार, मानवीय कानुन तथा फौजदारी न्यायको माध्यमबाट पीडितलाई न्याय सुनिश्चित गर्न र दोषीलाई जबाफदेही बनाउने सन्दर्भमा अन्तर्राष्ट्रिय फौजदारी अदालतको रोम विधान अनुमोदन गर्ने विषयमा छलफल भएको थियो ।
मानव अधिकार अयोगको लुम्बिनी प्रदेश शाखा कार्यालयका प्रमुख द्वारिका अधिकारीले रोम विधानलाई अनुमोदन प्रक्रिया अगाडि बढाउनका लागि अनुमोदन गर्नुपर्ने बताउनु भयो । उहाँले पीडितलाई न्यायको अनुभूति गराउन सबै निकायले पहल गर्नुपर्ने कुरामा जोड दिनुभयो ।
उक्त कार्यक्रममा बोल्दै इन्सेक लुम्बिनी प्रदेश संयोजक भोला महतले इन्सेकले रोम विधान पारित गर्न पीडितहरूको न्यायका लागि मानव अधिकारकर्मीहरूले प्रेस विज्ञप्ति जारी गरेको बताउनु भयो । सङ्क्रमणकालीन न्यायलाई टुङ्गोमा पुर्याउन पनि अन्तर्राष्ट्रिय फौजदारी अदालत (रोम विधान) लाई नेपालले अनुगमन गर्नु पर्ने भन्दै अधिकारकर्मीहरूले लामो समयदेखि आवज उठाउँदै आएको उहाँले बताउनु भयो ।
मानव अधिकारकर्मी तथा नागरिक समाजका अगुवा रविन्द्र कर्णले रोम विधान पारित गराउन जनताबाट आवाज उठाउनु पर्नेमा जोड दिनुभयो । उहाँले द्वन्द्व व्यवस्थापन भएको १८ वर्ष पुग्दा पनि न्याय अझै नपाएको उल्लेख गर्नुभयो ।
त्यसैगरी एडभोकेसी फोरम, लुम्बिनी प्रदेश कार्यालयका संयोजक अधिवक्ता बसन्त गौतमले देशभित्र न्याय नपाएकाले अन्तर्राष्ट्रिय स्तरमा अनुसन्धान गरी पीडितलाई न्याय दिलाउन रोम विधानले सहयोग पुर्याउने बताउनु भयो । उहाँले मानव अधिकार क्षेत्रमा सवै सरोकारवालाहरुलाई जबाफदेही बनाउन आवश्यक भएको बताउनु भयो ।
ध्रुबराज शर्मा