पीडितहरूको सुरक्षा तथा न्यायका लागि मानव अधिकार रक्षकहरूको भूमिका विषयक अभिमुखीकरण सम्पन्न

बाँके । २०७७ चैत १२ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेश कार्यालय, नेपालगञ्जको आयोजना तथा डिसीए र सिसुको सहयोगमा पीडितहरूकोे सुरक्षा तथा न्यायका लागि मानव अधिकार रक्षकहरूको भूमिका विषयक अभिमुखीकरण कार्यक्रम चैत ११ गते नेपालगञ्जमा सम्पन्न भएको छ । इन्सेक लुम्बिनी प्रदेश प्रमुख भोला महतले  बैजनाथ गाउँपालिका र डुडुवा गाउँपालिकामा गठन गरिएका मानव अधिकार रक्षकहरूको ज्ञान, सिप र क्षमताको बिकास गरी पीडितहरूको सुरक्षा तथा न्यायका लागि महत्वपूर्ण भूमिका खेल्न सकुन भन्ने उद्देश्यले कार्यक्रमको आयोजना गरेको बताउनु भयो । राष्ट्रिय मानव अधिकार आयोग, नेपालगञ्जका  प्रमुख झङ्करबहादुर रावलले मानव अधिकार रक्षक सम्बन्धि निर्देशिका तथा  पीडितहरूको सुरक्षा तथा न्यायमा मानव अधिकार रक्षकको भूमिका विषयमा सहजिकरण गर्नु भएको थियो ।

इन्सेक लुम्बिनी प्रदेश प्रमुख भोला महतले  पीडितको पक्षमा कार्य गर्दा मानव अधिकार रक्षकले अपनाउनु पर्ने आचार संहिताका विषयमा सहजिकरण गर्दै कामको दौरानमा आफु र अन्य मानव अधिकारकर्मीहरूले भोग्नु परेको चुनौतिका विषयमा चर्चा गर्नु भएको थियो । डिसिए परियोजना प्रमुख सरीता पुरीले मानव अधिकार रक्षकको परिभाषा, अधिकार र दायित्वको विषयमा सहजिकरण गर्नु भयो । उपभोक्ता हित सङ्रक्षण मञ्च, बाँकेका अध्यक्ष बसन्त गौतमले मानव अधिकार सहायता कक्ष तथा मानव अधिकार रक्षकबीच समन्वयका विषयमा सहजिकरण गर्नु भयो । यसैगरी, पीडितको पक्षमा कार्य गर्दा मानव अधिकार रक्षकका चुनौतीहरूका विषयमा इन्सेककी अधिकृत सरस्वती मल्ल र विनोद पाण्डेले सहजिकरण गर्दै समूहगत अभ्यास गराउनु भएको थियो । अभिमुखीकरण कार्यक्रममा बैजनाथ र  डुडुवा गाउँपालिका स्तरीय मानव अधिकार समुहका पदाधिकारीहरूको सहभागिता रहेको थियो ।

इन्सेक, लुम्बिनी प्रदेश कार्यालय, नेपालगञ्ज