पुनरावेदनको फैसलामा ढिलाइ हुँदा भूकम्प पीडित अन्योलमा
रामेछाप । २०७७ चैत १४ गते
लाभग्राहीको सूचीमा नाम नपरेपछि त्यसको विरुद्ध पुनरावेदन गएका भूकम्प पीडित परिवार फैसलामा ढिलाइ हुँदा अन्योलमा परेका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) खाँडादेवी गाउँपालिकामा चैत १३ गते आयोजना गरेको आवासको अधिकार विषयक अन्तरक्रिया कार्यक्रमका सहभागीले यस्तो गुनासो गरेका हुन् । भूकम्प पीडितले गुनासो फारम भर्दा पनि लाभग्राहीको सूचीमा नपरेपछि पुनरावेदन गरेका थिए । भूकम्पले घर भत्किए पनि लाभग्राहीको सूचीमा नपरेपछि पुनरावेदन गरेकोमा त्यसको फैसला नै नआएको भूकम्प पीडितको गुनासो थियो ।
आफ्नो वडाबाट १३ जना पीडित पुनरावेदनमा गए पनि उहाँहरूको पुनरावेदन उपर कुनै फैसला नभएको खाँडादेवी गाउँपालिका वडा नं. ६ का वडाध्यक्ष पुष्कर कार्कीले बताउनुभयो । कार्यक्रमका वडा अध्यक्ष कार्कीले पुननिर्माण प्राधिकरणले समयमा नै अनुदान रकम उपलब्ध नगराउँदा आवास निर्माणमा ढिलाई भएकालाई थप समय दिनुपर्ने, निर्माण सम्पन्न भएकालाई तत्काल निर्माणसम्पन्नताको प्रमाणपत्र उपलब्ध गराउनु पर्ने लगायतका माग राख्नु भएको थियो । जिल्लामा २०७२ सालमा आएको भूकम्पबाट ५० हजार २ सय १५ भन्दाबढी निजी आवासमा क्षति पुगेको थियो ।
नबराज पथिक