पूर्ण सरसफाई अभियान तथा फोहोरमैला व्यवस्थापनसम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न
कपिलवस्तु । २०८० जेठ ८ गते
‘कपिलवस्तु नगरवासीको सान पूर्ण सरसफाई अभियान’ भन्ने नारा सहित पूर्ण सरसफाई अभियान तथा फोहोरमैला व्यवस्थापनसम्बन्धी सचेतनामूलक कार्यक्रम गरिएको छ । मायाँदेवी बहुउद्देश्यिय महिला सहकारी संस्था लिमिटेड, कपिलवस्तु नगरपालिका–६ गोवरीको आयोजना, कपिलवस्तु नगरपालिका–६ को वडा कार्यालयको आर्थिक सहयोग तथा इन्सेक, मानव अधिकार समूह कपिलवस्तुको समन्वयमा उक्त सचेतना मूलक अभियान गरिएको हो । ‘गाउँघरमा शौचालय बनावाजाय अपना अपना इज्जत बचवाजाय, खुला दिशा नर्कको भिसा, चर्पिके प्रयोग कराजाय बहुबिटीयाके इज्जत बचावजाय, चर्पी बाहिर दिशा पिसाव गर्नेलाई जरिबाना गरौँ, हाम्रो घरमा चर्पी छ यसमा हामीलाई गर्व छ, सबैले उमालेको पानी पिऔँ, झाडापखालाबाट बचौँ’ भन्ने नारा सहितको र्याली गरिएको थियो । यस्तै ‘साबुन पानीको प्रयोग गरौँ, हरेक रोगहरूबाट बचौँ, माक्स लगाऊ कोरोना भगाऊँ, स्वस्थ्य सुखी र समृद्ध घर परिवार देश विकासको आधार’ लगायतका प्लेकार्ड सहित गोवरी चौराहादेखि माइकिङ् र प्लेकार्डसहित निकालिएको र्याली तिलौरा गाउँ हुँदै गोवरीमा पुगेर कोणसभामा परिणत भएको थियो ।
कार्यक्रममा कपिलवस्तु नगरपालिका–६ का वडा अध्यक्ष रामजित कुर्मीले सरसफाई नै मानव जीवनको मुख्य आधार भएको हुँदा वडावासी सम्पूर्ण नागरिकहरूले पूर्ण सरसफाईमा ध्यान दिन आग्रह गर्नु भयो । घरमा शौचालय भएका सबैले दिशापिसाव शौचालयमा नै गर्न आग्रह गर्दै शौचालयभन्दा बाहिर खेत सिमाना घोला जाहाँकही अनुगमनको क्रममा दिशा गर्न बसेको फेला परेमा कानुनी कारवाही गरिने अध्यक्ष कुर्मीले बताउनु भयो । मायादेवी बहुउद्देश्यिय महिला सहकारी संस्थाका संस्थापक तथा इन्सेक मानव अधिकार समूहका अध्यक्ष पुष्पा रेग्मीले सरसफाईमा सबैले ध्यान दिनुपर्ने र आफ्नो घरदेखि निस्किएको फहोरमैला आआफैँले व्यवस्थापन गर्न सके विभिन्न रोगहरू नलाग्ने भएको हुँदा सरसफाईमा वडावासीहरू एकजुट हुन आग्रह गर्नु भयो । सडकमा यत्रतत्र फालिएका प्लाष्टिकलगायतका फोहोरहरू व्यवस्थापन गर्नका लागि सम्बन्धित परिवारका सदस्यलाई भेटगरी परमर्श समेत गरिएको थियो ।
पार्वती आचार्य