प्रदेशस्तरका विभिन्न संघ सस्थाको समन्वयमा मानवअधिकारको अवस्थाको बारेमा छलफल तथा बैठक सम्पन्न

कास्की । २०८० मङ्सि ९ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) तथा कोपिला नेपालको आयोजनामा गण्डकी प्रदेशस्तरका विभिन्न संघ सस्थाहरुको समन्वयमा गण्डकी प्रदेशको मानवअधिकारको अवस्थाको बारेमा छलफल बैठक मङ्सिर ८ गते पोखरामा सम्पन्न भएको छ । गण्डकी प्रदेशमा पछिल्लो समयमा मानवअधिकारको अवस्थाका कस्तो छ भन्ने बिषयमा केन्द्रित भएर मानवअधिकारसम्बन्धी काम गर्ने संस्थाहरु संग उक्त छलफल सम्पन्न भएको हो । उक्त छलफलमा इन्सेक गण्डकी प्रदेश कार्यालयका संयोजक शिव खकुरेलले पछिल्लो तीन महिनाको मानवअधिकारको अवस्थाको बारेमा तथ्याङ्क प्रस्तुत गर्नुभएको थियो । उहाँले गण्डकी प्रदेशमा पछिल्लो समयमा मानवअधिकारको अवस्थामा सुधार आउन नसकेको कुरा इन्सेकको तीन महिनाको स्थिति सूचक सहित प्रस्तुत गर्नुभएको थियो । यसैगरि शान्तिको लागि नागरिक समाजको सञ्जालकि संयोजक बिना शिलवालले गण्डकी प्रदेशमा शान्ति स्थापना गर्न तथा भय रहित वातावरणमा बाच्नको लागि उपयुक्त वातावरण सिर्जना गर्न सबैले पहल गर्नुपर्ने बताउनुभयो । साथै बालिका तथा महिलामाथि हुने यौनजन्य हिंसा मा समयमा न्याय सम्पादन हुनुपर्ने कुरामा जोड दिनु पर्ने बताउनुभयो ।

उक्त छलफलमा एड्वोकेसी फोरमकि संयोजक अधिवक्ता कुञ्जनी परियार ‘प्यासी’ले राज्यको सम्यन्त्रले समयमा राहतमा राहत पुर्याउन नसक्दा जाजरकोटमा १३ जना भुकम्प पीडितले चिसोको कारण ज्यान गुमाउनु परेको अवस्थाले मानवअधिकारको अवस्था कस्तो छ भन्ने कुराको अनुमान गर्न सकिने बताउनुभयो । साथै उहाँले अहिलेको समयमा पनि मानवलाई नजरबन्दमा राखेर मानवको स्वतन्त्रताको अधिकार हनन भएको कुरा व्यक्त गर्नुभयो । अपाङ्गता महासंघ कास्कीका अध्यक्ष खोमराज शर्माले अपाङ्गताको मानवअधिकारको विषयलाई साँघुरो रुपमा मूल्याङ्कन गरिएको बताउनुभयो । साथै उहाँले राज्यको सम्यन्त्रहरुमा अपाङ्गता भएका व्यक्तिहरुको पहुँच नभएको कुरा व्यक्त गर्नुभयो । उक्त बैठकमा १६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियान तथा अन्तर्राष्ट्रिय मानवअधिकार दिवस कसरी मनाउने भन्ने विषयमा पनि छलफल गरिएको थियो । मानव अधिकारसम्बन्धि अनुगमन समन्वय समतिसँग आवद्ध संस्थाहरु इन्सेक, कोपिला नेपाल, कोशिस, एड्भोकेसी फोरम, एम्नेष्टी इन्टरनेशनल, महिला मञ्च, गैसस महासंघ नेपाल, महिला मानवअधिकार रक्षक सञ्जाल, राष्ट्रिय अपांग महासंघ, चिल्डेन नेपाल, दलित महिला संघ कास्की, बाल हेल्पलाइन, सयपत्री समाज, लगायतका विभिन्न संंघ संस्थाहरुको उपस्थिति रहेको थियो ।

सन्जय रानाभाट