प्रदेशस्तरीय कार्यक्रम समीक्षा तथा अन्तरक्रिया सम्पन्न
कैलाली । २०७९ असार ४ गते
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यलय, धनगढीको आयोजनामा सुदूरपश्चिम प्रदेशस्तरीय कार्यक्रम समीक्षा तथा अन्तरक्रिया गोष्ठी असार ४ गते धनगढीमा सम्पन्न भएको छ । सुदूरपश्चिम प्रदेशमा सञ्चालित मानव अधिकार शिक्षाको अवस्था, कार्यक्रमको प्रभावकारीता तथा मानव अधिकार अवस्थाका बारेमा सहजकर्ता र जिल्ला प्रतिनिधीहरुसँग वार्षिक समीक्षा तथा अन्तरक्रिया सम्पन्न गरिएको हो । इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतमले कार्यक्रमको उदघाट सत्रमा भर्चुयोल माध्येमबाट विगत तीन वर्षदेखि सञ्चालन हुँदै आएको मानव अधिकार शिक्षा कार्यक्रमको अन्तिम चरणमा भएकोले कार्यक्रमको प्रभावकारीता, अवसर र चुनौतीका विषयमा गहन रुपमा छलफल तथा समीक्षा गर्न सहजकर्ता र जिल्ला प्रतिनिधिहरूलाई आग्रह गर्नु भयो । उहाँले भन्नु भयो— ‘काम गर्ने दौरानमा आइपरेका चुनौती र सिकाई तथा अवसरहरुलाई सहजकर्ता र जिल्ला प्रतिनिधीहरु बीच अनुभव आदान प्रदान हुन आवश्यक छ । यसले इन्सेकको आगामी कार्यक्रम ओजनामा सजिलो बनाउने छ ।’
मानव अधिकार प्रलेख तथा पैरवी विभागका प्रमुख श्रीराम बजगाईले मानव अधिकार प्रलेख तथा पैरवी परियोजना अन्तर्गत रहेका सूचकहरुलाई पुरा गर्न पीडितको न्यायमा पहुँच पुर्याउनका लागि जिल्ला प्रतिनिधिहरूले खेलेको भूमिकालाई अभिलेख गर्न आवश्यक रहेको बताउनु भयो । मानव अधिकार शिक्षा विभागका प्रमुख मदन पौडेलले स्थानीय नागरिकको शिक्षा, स्वास्थ्य, आवास र खाद्यको अधिकारका सवालमा मागदावी गरेका घटनाहरूमा कति सुनुवाई भए, अपेक्षा अनुरूप नतिजा आयो आएन र कार्यक्रमले पारेका प्रभाव तथा सफलताका कथाका सन्दर्भमा समीक्षा गोष्ठीमा छलफल गर्न आग्रह गर्नु भयो । इन्सेक सुदूरपश्चिम प्रदेश संयोजक खडकराज जोशीले मानव अधिकार शिक्षा र मानव अधिकार प्रलेख तथा पैरवी कार्यक्रम अन्तर्गत तीन वर्षको अवधिमा सम्पन्न गरिएका गतिविध र त्यसले पारेको प्रभावका बारेमा समीक्षा गोष्ठीमा छलफल गरिएको बताउनु भयो । असार ३ र ४ गते धनगढीमा आयोजित कार्यक्रम समीक्षा तथा अन्तरक्रिया कार्यक्रममा सुदूरपश्चिम प्रदेशका नौ ओटै जिल्लाका इन्सेक जिल्ला प्रतिनिधी र मानव अधिकार शिक्षा कार्यक्रम सञ्चालनमा रहेका कैलाली, कञ्चनपुर, डोटी, डडेल्धुरा र बैतडी गरी पाँच जिल्लाका सहजकर्ताहरुको सहभागिता रहेको थियो ।
मैनामोती चौधरी