प्रदेश स्तरीय बाल अधिकर सञ्जालको बैठक सम्पन्न
बाँके । २०८१ वैशाख २५ गते
इन्सेक लुम्बिनी प्रदेश कार्यालयको आयोजनामा प्रदेश स्तरीय बाल अधिकर सञ्जालको बैठक वैशाख २४ गते नेपालगञ्जमा सम्पन्न भएको छ । जानकी गाउँपालिका मानव अधिकार समूहका अध्यक्ष जाहिर शेषले विद्यालयमा अभिभावक र शिक्षकको दुरी रहेकोले सानो सानो समस्या समाधान हुन नसकेकोले स्थानीय जनप्रतिनिधि, अभिभावक, विद्यार्थी, शिक्षक, इन्सेक समेतको सहभागितामा कार्यक्रम विद्यालय स्तरमा गर्न आवश्यक भएको बताउनु भयो । खजुरा गाउँपालिका-७ मा रहेको श्री नेपाल राष्ट्रिय माध्यमीक विद्यालयका प्रधानाध्यापक पारशनाथ वर्माले भर्ना हुने समयमा अभिभावक भर्ना हुन नआई इएमएस डाटा पठाइसकेपछि नयाँ विद्यार्थी भर्ना हुन आउने भएकाले नयाँ किताब कसरी उपलब्ध गराउने भन्ने विषयमा समस्या भएको बताउनु भयो । विद्यालयमा सेनेटरी प्याड फेर्ने ठाउँ र शौचालयको व्यवस्थापन हुन नसकेको उहाँले बताउनु भयो । श्री नेपाल राष्ट्रिय माध्यमीक विद्यालयकी शिक्षिका एवम् बाल अधिकार सचेतना समूहकी संरक्षक शीला श्रेष्ठले शिक्षा क्षेत्रका दृष्टिले पछाडि परेका मधेशी समुदाय भएकाले इन्सेकले परियोजना सञ्चालन गरेदेखि समुदायमा विद्यार्थी अभिभावकमा चेतना बढ्नुका साथै जिम्मेवारी बोध भएकाले शिक्षामा सुधार भएको उहाँको भनाई छ । अहिले निजी विद्यालयबाट सरकारी विद्यालयमा पढ्न आउने विद्यार्थीको सङ्ख्या बढ्दै गएको बताउनु भयो ।
जानकी गाउँपालिका-४ अन्तर्गतको जानकी माविका विद्यार्थी उमेश कुमार धोवीले चित्रकला, हाजिरी बालविवाह, दाइजो प्रथा न्यूनीकरणमा सचेतना, जवाफ प्रतियोगिताले बौद्धिक क्षमतामा विकास हुनुका साथै विद्यालयमा भएका समस्या समाधानका लागि बाल अधिकार समूहले विद्यालयमा मागदावी गरी सरसफाईको बारेमा छलफल गर्दा सेनेटरी प्याड व्यवस्थापन मेसिन जडान भएको, शौचालयको प्रयोग, नियमित सरसफाई हुन थालेको बताउनु भयो । शिक्षक, अभिभावक, अभिभावक सङ्घ, जनप्रतिनिधि विद्यार्थीहरूको सहभागितामा अन्तरक्रिया गर्ने विद्यालयमा गठित मानव अधिकार समूहले नियमित मासिक बैठकलाई निरन्तरता दिइने, अतिरिक्त क्रियाकलाप विद्यालयका वार्षिक कार्य योजना अनुसार गर्ने र विद्यालयमा भएका समस्यालाई समाधान गर्न सम्बन्धित निकायमा डेलिगेशन तथा भेटघाट गर्ने जस्ता कार्य योजना निर्माण गरेको इन्सेकको सहजकर्ता लक्ष्मी थारुले जानकारी दिनुभयो । इन्सेक लुम्बिनी प्रदेश कार्यक्रम अधिकृत सरस्वती मल्लले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै हालसम्मको अवस्था विश्लेषण गर्दै सिकाईका आधारमा आगामी योजनालाई प्रभावकारी बनाउन सामूहित योजना बनाउनुपर्ने र सबैको सहकार्य हुनुपर्ने बताउनु भयो ।
ध्रुबराज शर्मा