प्रदेश स्तरीय वर्षिक समीक्षा बैठक सम्पन्न

धनुषा । २०८१ असार २२ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालयको आयोजनामा ०८१ असार १९ गते प्रदेश स्तरीय वार्षिक समीक्षा बैठक लालगढमा सम्पन्न गरिएको छ । मधेस प्रदेशमा २०८० असार १६ देखि २०८१ असार १६ गतेसम्म अर्थात वर्षभरिमा भएका कार्यक्रमहरूको उपलब्धि, चुनौती र अवसरहरूका बारेमा छलफल गर्न उक्त बैठकको अयोजना गरिएको हो । बैठकमा मानव अधिकार शिक्षा कार्यक्रम सञ्चालित सप्तरी र धनुषाका जिल्ला सहजकर्ता र मधेस प्रदेशका इन्सेक जिल्ला प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । इन्सेक मधेस प्रदेश संयोजक राजु पासवानले बैठकको उद्देश्यमाथि प्रकाशन पार्नु हुँदै शिक्षा, स्वास्थ्य, वातावरण र विभेदविरुद्धको अधिकारलाई प्रत्याभूत गराउन स्थानीय सरकार र प्रदेश सरकारसँग समन्वय, सहकार्य र खबरदारी गर्दै सरोकारवाला निकायलाई जिम्मेवार बनाउनु पर्नेमा जोड दिनु भयो । मधेस प्रदेशमा दलित तथा विपन्न समुदायको मानव अधिकारका समस्याहरू न्युन रहेकोले उनीहरूको हक अधिकारका लागि कार्य गर्नु पर्ने उहाँले बताउनु भयो । बैठकमा सप्तरी जिल्ला सहजकर्ता अजय परियारले एक वर्षको अवधिमा शम्भुनाथ र डाक्नेश्वरी नगरपालिकामा शिक्षा, स्वास्थ्य, वातावरण, हिंसा र विभेदसँग सम्बन्धित ३२ ओटा समस्याको पहिचान गरी स्थानीय सरकारलाई सो समस्या समाधानका लागि ध्यानाकर्षण गराउने कार्य गरिएको बताउनु भयो ।

   

उहाँका अनुसार उक्त समस्या मध्ये १४ ओटा सम्बोधन भएको बताउनु भयो । धनुषा जिल्ला सहजकर्ता शिवजी परियारले एक वर्षको अवधिमा बटेश्वर गाउँपालिका र मिथिला नगरपालिकामा शिक्षा, स्वास्थ्य, वातावरण, हिंसा र विभेदसँग सम्बन्धित ३१ ओटा समस्या पहिचान गरी स्थानीय सरकारलाई सो समस्या समाधानका लागि ध्यानाकर्षण गराउने कार्य गरिएको बताउनु भयो । उहाँका अनुसार उक्त समस्या मध्ये १७ ओटा सम्बोधन भएको बताउनु भयो । सप्तरी र धनुषाका जिल्ला सहजकर्ता द्वय परियारका अनुसार मानव अधिकार समूह र बालअधिकार सचेतना समूहले बालविवाह, महिला हिंसा, दाइजो प्रथा र जातीय छुवाछुत विरुद्ध सडक नाटकहरु मार्फत सचेतना फैलाउने कार्य गरेको र वातावरण दिवसको अवसरमा विद्यालयहरुमा वृक्षा रोपणका कार्यहरु समेत गरिएको जानकारी दिनु भयो । इन्सेक सप्तरी प्रतिनिधि मनोहर पोखरेल, सिरहा प्रतिनिधि दुर्गा परियार, सर्लाही प्रतिनिधि बुधन साह र बारा प्रतिनिधि भोलानाथ पौडेलले असहाय, पीडितहरूको उद्धार, उपचार, न्यायका लागि बहस, पैरवी तथा जिल्लाको सरकारी र गैरसरकारी संघ-संस्थाबीच समन्वय र सहकार्य गर्दै मावन अधिकार घटनाहरुको अभिलेख गर्नुका साथै नागरिकको अधिकारका लागि पैरवी गर्दै आएको बताउनु भयो ।

इन्सेक मधेस प्रदेश कार्यालय