बटेश्वरमा मानव अधिकार समुह गठन
धनुषा । २०७९ असोज १३ गते
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशको आयोजनामा असोज ११ गते बटेश्वर गाउँपालिकास्तरीय मानव अधिकार समुह गठन गरिएको छ । जनप्रतिनिधि, स्थानिय समाजसेवी, सरोकारवाला र कर्मचारीहरुको बृहत भेलाबाट रामेश्वर महासेठ, बालकुमारी थापा मगर, फुल कुमारी साह, लक्ष्मी कुमारी महतो लगायत नौ सदस्यीय मानव अधिकार समूह गठन गरिएको हो । भेलाले बटेश्वर गाउँपालिका वडा नं. १ स्थित श्री लक्ष्मी मावि चित्रपुर र वडा नं. ४ स्थित श्री शिवशक्ति नमुमा माविमा कार्यक्रम सञ्चालन गर्नका लागि छनौट गरिएको छ । बटेश्वर गाउँपालिकाका अध्यक्ष रामअशिष महतोले मानव अधिकार शिक्षा कार्यक्रमले यहाँका जनताहरुलाई जागरुक्ता ल्याउने विश्वास व्यक्त गर्नु भयो । मानव अधिकार समुहले यहाँका शिक्षा, स्वास्थ्य, खाद्य, आवास, वातावरण लगायतको क्षेत्रमा जनतामा जनचेतना फैलाउने र जागरुक्ता ल्याउनेमा आफु विश्वस्त भएको बताउनु भयो ।
इन्सेक मधेस प्रदेशका कार्यक्रम फोकल पर्सन बरुण बस्यालले बटेश्वर गाउँपालिकामा शिक्षा, स्वास्थ्य, खाद्य, वातावरण र विभेद विरुद्ध लगायतको सवालमा जनतालाई जागरुक गराउने र जनप्रतिनिधिहरुलाई जवाफदेही बनाउन परियोजना संचालन गरिएको बताउनु भयो । उहाँले यस समुहका माध्यमबाट समुदायमा व्याप्त समस्यालाई उजागर गरी सरोकारवाला निकायबाट सम्बोधन गराउने प्रयास यस परियोजनाले लिएको बताउनु भयो । कार्यक्रममा बटेश्वर गाउँपालिका उपाध्यक्ष फुलकुमारी सिंहले गठित मानव अधिकार समुहले आफ्नो काम, कर्तव्य पूर्ण निष्ठाका साथ गर्ने अपेक्षा गर्दै पूर्ण सफलताको कामनाको साथै समूहका पदाधिकारीहरुलाई बधाई ज्ञापन गर्नु भयो ।
दिपेन्द्रप्रसाद सिंह