बलात्कार घटनाका पीडितलाई इन्सेकद्वारा आर्थिक सहयोग
रुपन्देही । २०८१ भदौ १३ गते
अपाङ्गता हुनुभएकी बलात्कार घटनाका १९ वर्षीया पीडित युवतीलाई कानुनी प्रकियामा जानका लागि अनौपचारीक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले आर्थिक सहयोग गरेको छ । आर्थिक अवस्था अत्यान्त्यै न्यून रहेको परिवारले अर्कैको जमिनमा बसेर मजदुरी गरेर जीवन बिताइरहेका छन् । पीडितकी आमाले दैनिक ज्याला मजदुरको काम गर्नुहुन्छ । छोरी पूर्ण असक्त भएका कारण लुम्बिनी साँस्कृतिक नपालले अपाङ्गता भत्ता दिँदै आइरहेको छ । त्यही भत्ताले पीडित परिवारको घरमा चुलो बल्ने गरेको पीडितकी आमा बताउनुहुन्छ ।
इन्सेक जिल्ला प्रतिनिधि र इलाका प्रहरी कार्यालय, लुम्बिनीको प्रहरी सहायक हवल्दार आकाश मगरको संयुक्त रूपमा पीडितको घरमै गएर पीडितलाई १० हजार रुपियाँ उपलब्ध गराउनुभएको थियो । पीडितको न्यायमा पहुँच पुर्याउने उद्देश्यले इन्सेकले लामो समयदेखि लैङ्गिक हिंसा र यौनजन्य हिंसाबाट पीडित महिला तथा बालिकाहरूलाई आर्थिक सहयोग तथा सहजीकरण गर्दै आइरहेको छ । पीडित युवतीलाई असार २८ गते बलात्कार गरेको आरोपमा प्रहरीले लुम्बिनी साँस्कृतिक नगरपालिका–१, भगवानपुरका ५३ वर्षीय ओम प्रकाशलाल श्रीवास्तव विरुद्ध साउन २९ गते उजुरी दर्ता गरेको थियो । आरोपित फरार रहेकोले खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय, लुम्बिनीका इन्स्पेक्टर कञ्चन तामाङले बताउनु भयो । आरोपित पहिला पनि स्थानीय एक बालिकालाई बलात्कार गरेको आरोपमा जेल सजाय काटिसकेको इलाका प्रहरी कार्यालय, लुम्बिनीका सहायक हवल्दार आकाश थापा मगरले बताउनु भयो ।
रीमा बिसी