बागमती प्रदेशस्तरिय मानव अधिकारको अवस्था बारे अन्तरक्रिया सम्पन्न

चितवन । २०७९ पुस १४ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेशको आयोजनामा भरतपुरमा ०७९ पुस १४ गते बागमती प्रदेशको मानव अधिकारको अवस्था सम्बन्धमा जिल्ला प्रतिनिधिहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।  कार्यक्रममा जिल्ला प्रतिनिधिहरूले जिल्लामा अभिलेख भएको मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाको अवस्था तथा निर्वाचनमा भएका निर्वाचन आचारसंहिता उल्लङ्घनका घटना बारे  उल्लेख गरेका थिए ।  कार्यक्रममा इन्सेक दोलखा प्रतिनिधि उद्धव पोखरेलले जिल्लामा २७ ओटा मानव अधिकार उल्लङ्घन तथा ज्यादतिका घटनाको अभिलेख गरिएको बताउनु भयो । उहाँले प्रतिनिधि तथा प्रदेश सभाको मङ्सिर ४ गतेको मतदानमा चार ओटा मतदान स्थलका १० ओटा मतदान केन्द्रमा सत्ता गठबन्धन पक्षबाट बुथ कब्जा भएको भन्दै नेकपा एमालेले जिल्ला निर्वाचन कार्यालयमा उजुरी दिएकोमा निर्वाचन कार्यालयले मङ्सिर १५ गते पुन मतदान गराएको बताउनु भयो । पोखरेलले विगतका निर्वाचनहरूमा पनि शक्ति र पहुँचका आधारमा मतदान केन्द्र कब्जा हुने हुँदा जनताले स्वतन्त्र र निष्पक्ष भएर आफूले मतदाधिकार प्रयोग गर्न नपाउने गरेको समेत उल्लेख गर्नु भयो । 

सिन्धुपाल्चोका जिल्ला प्रतिनिधि नातिबाबु धितालले ४० ओटा घटनाहरू अभिलेखीकरण गरिएको जानकारी दिनुभयो । प्रहरीले हिरासतमा यातना दिएको लगायतका घटना यस वर्ष सार्वजनिक भएको उहाँले बताउनुभयो ।  ज्येष्ठ नागरिकले स्वास्थ्य सेवा नपाएको तथा सम्बन्ध विच्छेद पछि समस्या परेका  आश्रित बालबालिकाको अधिकारको विषय पनि समावेश गर्नु पर्ने सुझाव आएको उहाँले बताउनुभयो । ललितपुर जिल्ला प्रतिनिधि दीपक घिमिरेले सबैभन्दा धेरै बलात्कारका ४६ ओटा घटना सार्वजनिक भएको जानकारी दिनुभयो ।  यसैगरी बहुविवाहमानव बेचबिखनहत्याको प्रयासबाल यौन दुर्व्यवहार लगायतका घटनाहरू जिल्लामा भएको उहाँले बताउनुभयो । काठमाठमाडौँ जिल्ला प्रतिनिधि विमल पौडेलले यस वर्ष २ सय ९५ घटना सङ्कलन गरेको बताउनुभयो । त्यस मध्ये ४६ जनाको जेल र हिरासतमा ज्यान गएको उहाँले जानकारी दिनुभयो । धादिङ जिल्ला प्रतिनिधि सीताराम अधिकारीले ४१ ओटा घटना सङ्कलन भएकोमा बलात्कारका घटना धेरै भएको बताउनुभयो । यस बाहेक बोक्सीको आरोपका घटना समेत रहेको उहाँले जानकारी दिनुभयो ।

     

रामेछाप जिल्ला प्रतिनिधि नवराज पथिकले यस वर्ष ४० ओटा घटना सङ्कलन भएकोमा २२ ओटा बलात्कार र बलात्कार प्रयासका घटना भएको बताउनुभयो ।  बोक्सीको आरोपमा हत्या तथा दलित बालिकालाई बाँधेर यातना दिने जस्ता जघन्य घटना समेत यस वर्ष भएका उहाँले बताउनुभयो । सिन्धुली जिल्ला प्रतिनिधि नविनबाबु अधिकारीले पनि जिल्लामा बलात्कार र घरेलु हिंसाकै घटना बढी भएको बताउनुभयो । उहाँले यस वर्ष ७७ ओटा घटना सङ्कलन भएकोमा अधिकांश महिला हिंसाकै घटना भएको बताउनुभयो । नुवाकोटका जिल्ला प्रतिनिधि नवदीप श्रेष्ठले जिल्लामा यस वर्ष सबैभन्दा बढी बलात्कारका १५ ओटाबलात्कार प्रयासका ६ ओटा हत्याका सात ओटाबहुविवाहका चार ओटा लगायतका घटना सङ्कलन भएका जानकारी दिनुभयो । भक्तपुरका जिल्ल प्रतिनिधि रमेश गिरीले ६५ ओटा घटना सङ्कलन भएकोमा ५१ ओटा बलात्कारकै घटना भएको बताउनुभयो । यस वर्ष महिला हिंसाका घटना अधिक देखिएको उहाँले बताउनुभयो । काभ्रे जिल्ला प्रतिनिधि हिरामान तामाङले समग्र जिल्लाका मानव अधिकार अवस्था बारे जानकारी दिँदै समग्रमा महिला हिंसाकै घटना बढी भएको बताउनुभयो ।

चितवन जिल्ला प्रतिनिधि दीपेन्द्र अधिकारीले जिल्लामा यस वर्ष कूल १ सय ६१ घटना सङ्कलन गरिएको जानकारी दिनुभयो ।  जसमा यौनजन्य हिंसाकै घटना बढी रहेको उहाँले बताउनुभयो । छात्राहरू माथि यौन दुर्व्यवहार भएका घटना धेरै आएको उहाँले जानकारी दिनुभयो । यस्ता कतिपय घटना अहिले पनि अनुसन्धानकै प्रक्रियामा रहेका उहाँले बताउनुभयो । रसुवा जिल्ला प्रतिनिधि हेमनाथ खतिवडाले यस वर्ष १४ ओटा घटना सङ्कलन गरिएको बताउनुभयो । मङ्सिर ४ मा सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन विगतका निर्वाचनको भन्दा शान्तिपूर्ण रूपमा सम्पन्न भएको उहाँले बताउनुभयो । तथापि आचारसंहिताको पालनामा भने राजनीतिक दल र उम्मेदवारले अझै ध्यान नदिएका उहाँले बताउनुभयो । सो जिल्लामा पनि महिला हिंसाकै घटना बढी रहेका उहाँले बताउनुभयो । मकवानपुर जिल्ला प्रतिनिधि पुष्पराज अधिकारी यस वर्ष ६७ ओटा घटना सङ्कलन गरिएको जानकारी दिनुभयो । मकवानपुरमा पनि बलात्कारकै घटना बढी रहेका उहाँले बताउनुभयो । जसमा बालबालिका समेत पीडित रहेका उहाँले तथ्याङ्क प्रस्तुत गर्नुभयो । साथै नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ प्रकाशन पूर्वको दुई दिने सम्पादन भेला पनि पुस १४ गते बाटै सुरु भएको छ । कार्यक्रममा उपस्थित बागमती प्रदेशका जिल्ला प्रतिनिधिहरूले आआफ्ना जिल्लामा अभिलेख गरिएका मानव अधिकार उल्लङ्घनका घटनाको फ्लोअप सहितको सम्पादन कार्य गरिने इन्सेक बागमती प्रदेश संयोजक गणेश भण्डारीले बताउनु भयो ।   कार्यक्रममा इन्सेक अनलाइनका सम्पादक रमेशप्रसाद तिमल्सिनाले इन्सेक वर्ष पुस्तक मानव अधिकार अभिलेख भएकाले मानवअधिकार उल्लङ्घनका घटनालाई जिम्मेवारका साथ टिपोट गर्नुपर्ने बताउनुभयो ।  

दिपेन्द्र अधिकारी