बाल अधिकार चेतना समूहको प्रदेशस्तरीय बैठक सम्पन्न
कैलाली । २०८० असोज २४ गते
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजनामा सुदूरपश्चिम प्रदेशस्तरीय बाल अधिकर चेतना समुहको बैठक ०८० असोज २४ गते धनगढीमा सम्पन्न भएको छ । इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीका संयोजक खड्कराज जोशीले बाल अधिकार चेतना समूहका पदाधिकारीहरु अनुशासित भई विद्यालयमा हुने गतिविधिहरुको निगरानी गर्र्न, गणस्तरीय पठनपाठनका लागि पहल गर्न, वातावरण संरक्षण तथा विद्यालय सरसफाईका लागि पहल गर्न र बालविवाहका विरुद्धमा अभियान सञ्चालन गरी बालबालिकाहरुलाई कुलतबाट बचाँउन सडक नाटक मार्फत जनचेतना फैलाउन आवश्यक रहेको बताउनु भयो । स्वस्थ्य रहनका लागि वृक्षरोपण तथा वातावरण संरक्षण गर्न आवश्यक रहेकोले प्लाष्टिकजन्य बस्तु जलाउदा स्वास्थ्य तथा वातावरणमा पर्ने असरका बारेमा बाल अधिकार चेतना समूहका पदाधिकारीहरु सचेत भई अरुलाई पनि सचेत गर्न उहाँले आग्रह गर्नु भयो ।
बाल अधिकार चेतना समूहकी अध्यक्ष आरती सेठीले इन्सेक र विद्यालयको अतिरिक्त कृयाकलाप वाहेक आफूले बिभिन्न प्रतियोगितामा पुरस्कार पाएको पैसाले विद्यालयमा कोष निर्माण गरी सोही कोषको रकमले विद्यालयमा कार्यक्रम सञ्चालन गरी उत्कृष्ट विद्यार्थीलाई पुरस्कार वितरण गर्ने गरेको बताउनु भयो । बाल अधिकार चेतना समूहका सचिव राघव तिरुवाले बाल अधिकार चेतना समूह गठन भएदेखि विद्यालयमा पठनपाठनसँगै बालभित्ते पत्रिका प्रकाशन गर्न थालेपछि विद्यार्थीहरुको प्रतिभाको प्रस्फुटनसँगै सहभागिता बढेको बताउनु भयो । बाल अधिकार चेतना समूहका सदस्य विमल लामिछानेले विद्यालयमा बाल अधिकार चेतना समुहले सरसफाई गरी नगल्ने फोहर व्यवस्थापनका लागि स्थानीय तहसँग समन्वय गरिरहेको बताउनु भयो । बाल अधिकार समूहका सदस्य सुरिस्मा चौधरीले विद्यालयमा बाल अधिकार चेतना समुह गठन हुनु पूर्व विद्यालयमा महिनावारी भएकाहरुलाई एउटा मात्र सेनेटरीप्याड दिने गरेको भए पनि अहिले बाल अधिकार चेतना समूहको पहलमा आवश्यकताको आधरमा सेनेटरीप्याड दिन गरिएको बताउनु भयो ।
मैनामोती चौधरी