बाल अधिकार सचेतना समूहको पुनर्गठन र कार्ययोजना निर्माण

सप्तरी । २०८० असोज २५ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशको आयोजनामा डाक्नेश्वरी नगरपालिका–७ स्थित जनता रामेश्वर मेमोरियल माध्यमिक विद्यालय ब्रहमपुरमा ०८० असोज २५ गते बाल अधिकार सचेतना समूहको पुनर्गठन र कार्ययोजना निर्माण बैठक सम्पन्न भएको छ । विद्यालयका रूपेश कुमार संन्तको अध्यक्षतामा २८ सदस्यीय बाल अधिकार सचेतना समूह पुनर्गठन भएको संरक्षक शिक्षक बलराम पण्डितले जानकारी दिनु भयो । गठित बाल अधिकार सचेतना समूहको वरिष्ठ उपाध्यक्षमा मुर्ति कुमारी मण्डल, उपाध्यक्षमा बालकृष्ण सदा, सचिवमा अञ्जली कुमारी साह, सहसचिवमा सत्यनारायण पण्डित र कोषाध्यक्षमा सुरज कुमार सरदारलाई चयन गरिएको छ । कार्यक्रम व्यवस्थापनमा पवित्र कुमारी मण्डल, सल्लाहकारमा चाँदनी मण्डल र सपना मण्डल तथा संरक्षक शिक्षकमा बलराम पण्डित रहनु भएको छ । कार्यक्रममा वडा अध्यक्ष शत्रुधन मण्डलले बाल अधिकार सचेतना समूहका पदाधिकारीहरू सचेत भई कार्यक्रम गर्दै गएमा समाज परिवर्तनमा सफलता मिल्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले बालबालिकाको क्षमता अभिबृद्धि गर्न वडा कार्यालयको पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

डाक्नेश्वरी नगरपालिका मानव अधिकार समूहकी सदस्य अनुदेवी चौधरीले बाल अधिकार सुनिश्चित गर्न बालबालिकाकै अहम् भूमिका रहने बताउनु भयो । सचेतना अभियानले फोहोरमैला व्यवस्थापन भई वातावरण सरक्षण हुने, बालविवाह, बालहिंसा, यौन दुर्व्यवहारसम्बन्धी घटना न्यून हुँदै जाने चौधरीले बताउनु भयो । सहजकर्ता अजय परियारले बाल अधिकार सचेतना समूहले जनचेतनामूलक कार्यक्रम गर्ने, विद्यालयका क्रियाकलापमा सहभागिता जनाउने, व्यक्तित्व विकासका विभिन्न कार्यक्रम गर्ने, शैक्षिक वातावरणमा सकरात्मक सहयोग गर्ने, स्थानिय तह र विद्यालयमा बालअधिकारका सवालमा मागदाबी गर्ने भएकोले अभिभावक र जनप्रतिनिधिलाई समेत जवाफदेही बनाउने विश्वास प्रकट गर्नुुभयो । 

मनोहरकुमार पोखरेल