








धनुषा । २०७९ चैत ४ गते
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा मिथिला नगरपालिका–६ ढल्केवरस्थित श्री महेन्द्र माध्यमिक विद्यालयमा गठित बाल अधिकार सचेतना समूहले बालविवाह र दइजो प्रथाविरुद्ध चैत ३ गते ढल्केवरको पूर्वारी चोकमा सडक नाटक प्रदर्शन गरेको छ । मानव अधिकार शिक्षा कार्यक्रमअन्तर्गत स्थानीय समुदायलाई अधिकार र कर्तव्य प्रति सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउने उद्देश्यले बाल अधिकार सचेतना समूहले सडक नाटक प्रदर्शन गरेको हो ।
“दाइजो प्रथा रोकथाम र बालविवाहले निम्ताएको समस्या” नामक सडक नाटकमा समुदायमा दाइजो प्रथा यथावतै रहेको र महिला माथि हुने हिंसा न्युनिकरण बारे सन्देश दिन खोजिएको इन्सेक धनुषा सहजकर्ता अनिता यादवले बताउनुभयो । समुदायमा व्याप्त रहेको विकृति र कुरितिलाई अन्त्य गर्न हामी समुदायका व्यक्तिहरू सचेत हुनुपर्ने नाटक मार्फत् सन्देश दिन खोजिएको बाल अधिकार सचेतना समूहका महेन्द्र माविका प्रधानाध्यापक रामकुमार महतोले बताउनुभयो । सडक नाटक प्रदर्शनमा शिक्षक, अभिभावक, संस्थाका प्रतिनिधीहरूलगायत सयौंको संख्यामा स्थानियहरूको उपस्थिति रहेको थियो ।
दिपेन्द्र प्रसाद सिंह