बाल अधिकार सचेतना समूहद्वारा बालविवाहविरुद्ध सडक नाटक प्रदर्शन

सप्तरी । २०८० असार २९ गते

डाक्नेश्वरी नगरपालिकामा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा गठित बाल अधिकार सचेतना समूहले डाक्नेश्वरी नगरपालिकाको वडा नम्बर १ र ७ को बिचमा रहेको अमरलत्ती चौकमा असार २७ गते सडक नाटक प्रदर्शन गरेको छ । इन्सेक मधेस प्रदेश जनकपुरधामको आयोजनामा स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेबार निकायलाई जवाफदेही बनाउन सडक नाटक प्रदर्शन गरिएको कार्यक्रम संयोजक बरुण बस्यालले जानकारी दिनुभयो । जस्को समस्या उसैले नै स्थानीय भाषामा तयार पारेर ठाउँठाउँमा बालविवाह विरुद्ध सडक नाटक प्रदर्शन गर्दा प्रभावकारी भएको इन्सेकका मधेस प्रदेश संयोजक राजु पासवानले बताउनु भयो । पासवानका अनुसार ग्रामीण परिवेशमा जे कुरा देखे, सुने त्यही कुरालाई विद्यार्थीहरुले नाटकमा उतार्ने प्रयास गरे । यसले स्वयम् बालबालिका, उहाँहरुको अभिभावक र छिमेक, टोलमा परिवर्तन ल्याउने पासवानले विश्वास व्यक्त गर्नुभयो । आर्थिक, सामाजिक हिसाबले पछाडी परेको ग्रामीण भेगमा बालविवाह बढ्दो क्रममा रहेको छ । ग्रामीण बस्तीहरुमा बालविवाहले अझै पनि जरा गाडेको वडा नम्बर १ का वडा अध्यक्ष प्रितमलाल चौधरीले जानकारी दिनुभयो । वडा र नगरपालिकालाई बालविवाहमुक्त पालिका घोषणा गर्न समेत जनचेतनामुलक कार्यक्रमले सहयोग गर्ने उहाँले बताउनु भयो ।

नेपालको कानून अनुसार २० वर्ष मुनिको विवाहलाई मान्यता नदिएपनि लुकी छिपी विवाह गर्ने क्रम रहेको छ । उमेर नपुगी गरिने विवाहबाट जन्मिएका सन्तानहरुमा अपाङ्गगता हुने, आमा र बच्चाको ज्यान जोखिममा पर्ने, बालश्रम, यौन दुव्यर्वहारलगायतको हिंसामा पर्ने गरेकाले त्यसको अन्त्य गर्न सडक नाटक गरेको नाटकमा अभिनय गरिरहेकी चाँदनीकुमारी मण्डलले बताउनु भयो । डाक्नेश्वरी नगरपालिका–७ स्थित जनता रामेश्वर मेमोरियल माध्यमिक विद्यालय ब्रह्मपुर र वडा नम्बर–१० स्थित हिरा फेकनी माध्यमिक विद्यालय बनौलाका २० जना भन्दा बढी सहभागी विद्यार्थी कलाकारहरुले प्रस्तुत गरेको नाटकमा बालविवाहले पार्ने समस्याको बारेमा चित्रण गरिएको छ । उमेर नपुगी विवाह गर्दा हुने कानुनी तथा स्वास्थ्य असरहरुको बारेमा सन्देशमुलक प्रस्तुतीहरु दिइएको सरस्वती कुमारी रामले बताउनु भयो । यस्ता नाटकले समाजमा केही न केही रुपमा प्रभाव पार्नेमा सहभागीहरुले विश्वास लिएका छन् । भागेर वा मागेर, दाइजो दिएर वा झुक्याएर बालविवाह गर्ने चलन समाजमा रहेको छ । नाटकमा कम उमेरमा विवाह गर्दा कस्ता समस्या आउँछन् भन्ने कुरा देखाइएको छ ।

 

मनोहकुमार पोखरेल