बाल अधिकार सचेतना समूहद्वारा सडक नाटक प्रदर्शन
सप्तरी । २०८० मङ्सिर १५ गते
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा जनता माध्यमिक विद्यालय, रामपुर जमुवामा गठित बाल अधिकार सचेतना समूहका बालबालिकाहरूले ०८० मङ्सिर १२ गते शम्भुनाथ नगरपलिका–१० लहरनिया टोलमा सडक नाटक प्रदर्शन गरेका छन् । बाल अधिकार सचेतना समूहले शिक्षा र बाल अधिकार क्षेत्रमा देखिएका असमानता तथा विभेद र बाल बिवाह, महिला हिंसा तथा महिलाविरुद्ध हुने सबै किसिमका भेदभाव विरुद्ध जनचेतनामूलक सडक नाटक प्रदर्शन गरेका हुन । असमान व्यवहार तथा विभेदले मानव जीवनमा पर्ने असरलाई समेत बालबालिकाहरूले प्रस्तुत गरे । नाटकको माध्यमद्वारा बालबालिकाहरूले स्थानीय समुदाय, समाजसेवी, शिक्षक तथा सरोकारवाला निकायहरूको ध्यानाकर्षण गराए । कार्यक्रममा सहभागी बिना खगंले सचेतनामूलक कार्यक्रमबाट महिलामा हुने सबै खालको हिंसाप्रति नागरिक समाज सचेत हुने र कानुनले दिएको अधिकार बारे जानकार हुने बताउनु भयो । सहभागी बिन्दा देवी मण्डलले एक दिन अगावै कार्यक्रम बारे जानकारी र प्रचार भए सहभागिता बढ्ने बताउनु भयो ।
कार्यक्रम पश्चात बालबालिकाहरूले आफ्नो र समुदायका बालबालिकाहरूको अधिकार बारे बुझ्ने र बुझाउन सक्ने भनी संरक्षक शिक्षक सुनिल कुमार चौधरीले मन्तव्य राख्नु भयो । सडक नाटकलगायत चेतनामूलक कार्यक्रमले मानव अधिकार, बाल अधिकार, महिला हिंसाबारे मानसिक र बौद्धिक विकास हुने मानव अधिकार समूहकी उपाध्यक्ष देवीमाया भट्टराईले बताउनु भयो । सडक नाटक प्रदर्शनमा बाल अधिकार सचेतना समूहकी अध्यक्ष सन्तोषी कुमारी साह, प्रितिका चौधरी, स्वस्तिका सरदार, संस्कृति चौधरी, पिंकी भगत, खुश्बू चौधरी, ऋतिका चौधरी, आकाश चौधरी, रूपेश चौधरी, काजल मण्डल, कृष्ण सरदार, अमन चौधरी, दिपेन चौधरी, श्रवण मण्डल, अदिती चौधरीलगायतले भूमिका निर्वाह गर्नुभएको थियो । उक्त कार्यक्रममा मानव अधिकार समूहका अध्यक्ष पुलकित भगत, शिक्षक अमरेन्द्र कुमार मण्डल, समुदायका अगुवा, बिद्यार्थी तथा सप्तरी जिल्ला सहजकर्ता अजय परियार लगायतको उपस्थिती रहेको थियोे ।
मनोहरकुमार पोखरेल