बाल अधिकार समूहद्वारा बालविवाहविरुद्ध सडक नाटक प्रदर्शन

चितवन । २०८० वैशाख २९ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेशद्वारा कालिका नगरपालिका–११ मझवाङ स्थित श्री राष्ट्रिय माध्यमिक विद्यालयमा गठित बाल अधिकार सचेतना समूहले बालविवाहविरुद्ध ०८० वैशाख २७ गते सिध्दि बजारमा सडक नाटक प्रदर्शन गरेको छ । मानव अधिकार शिक्षा कार्यक्रमअन्तर्गत स्थानीय समुदायलाई अधिकार र कर्तव्य प्रति सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउने उद्देश्यले बाल अधिकार सचेतना समूहले सडक नाटक प्रदर्शन गरेको हो । नाटकमा विशेष गरि चेतनाको अभावमा सानो उमेरमै विवाह गर्ने अझै पनि बढ्दो रूपमा समस्या लिइरहेको हुनाले बालविवाह विरुद्ध मुख्य विषयवस्तु बनाइ नाटक गरेका थिए ।

कालिका नगरपालिकामा बढदो बालविवाहका विरुद्ध सचेतिकरण गर्ने उद्देश्यले प्रस्तुत गरिएको सडक नाटकमा सानो उमेरमा विवाह गर्दा बालबालिकाहरू शिक्षाबाट वञ्चित हुने, घरेलु हिंसामा पर्ने र स्वास्थ्यमा गम्भीर असर पार्ने जस्ता विषयहरू समेटिएको थिए । प्रदर्शन गरिएको नाटकको माध्यमले बालविवाह अपराध हो, जसले गर्दा बालबालिकाको जीवन अन्धकार मात्र नभई भविष्य नै समाप्त हुन सक्छ भन्ने सन्देश दिइएको श्री राष्ट्रिय माध्यमिक विद्यालयको प्रधानाध्यापक फडिन्द्र पनेरूले बताउनु भयो । सडक नाटक कार्यक्रम समापन गर्दै विद्यालयको शिक्षक राम्चन्द्र दवाडीले बालबिबाह गर्नु कानुनी अपराध भएकोले यस्ता सडक नाटकले बालविवाहमा कमी ल्याउन सहयोग पुग्ने उल्लेख गर्नुभयो । कार्यक्रममा श्री राष्ट्रिय माध्यमिक विद्यालय व्यवस्थापन ससिमतिका सदस्य, बाल अधिकार समुहका सदस्य, शिक्षक, विद्यार्थी र स्थानीयबासीको उपस्थिती रहेको थियो ।

इन्सेक बागमती प्रदेश कार्यालय, हेटौँडा