बाल अधिकार समूहद्वारा बालविवाहविरुद्ध सडक नाटक प्रदर्शन

महोत्तरी । २०७८ भदौ २९ गते

गौशाला नगरपालिका–४ रजखोरमा बालविवाहविरुद्ध सडक नाटक प्रर्दशन गरी भदौ २९ गते राष्ट्रिय बालदिवस मनाइएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रादेशिक कार्यालय जनकपुरको सहयोग तथा बाल अधिकार चेतना समूहको आयोजना र जनता माविको सहकार्यमा नाटक प्रदर्शन गरिएको समूहका अध्यक्ष कमलेश साहले बताउनु भयो । प्रदर्शन गरिएको नाटकको माध्यमले बालविवाह अपराध हो, जसले गर्दा बालबालिकाको जीवन अन्धकार मात्र नभई भविष्य नै समाप्त हुन सक्छ भन्ने सन्देश दिइएको थियो ।

त्यसैगरी नाटकमार्फत विवाह गर्ने गराउने सबैले कानुनी सजाय भोग्नुपर्ने र बाल्यकालमा नै विवाह गरेमा स्वास्थ्य समस्या हुने, शिक्षा पुरा नहुने हुँदा आत्मनिर्भर नभइ विभिन्न समस्याले पिरोल्नेलगायतका सन्देश दिइएको थियो । जनता माविका कक्षा ६ देखि १० सम्मका विद्यार्थीले नाटकमा भाग लिएका थिए । इन्सेकको सहयोगमा समूहले विभिन्न जनचेतनामुलक कार्यक्रमहरू आयोजना गर्दै आएको छ ।

 

अजयकुमार साह