बाल अधिकार समूहद्वारा लैङ्गिक हिंसा विरुद्ध सचेतनामूलक सडक नाटक प्रदर्शन
नवलपरासी (सुस्ता पूर्व) । २०८० मङ्सिर १८ गते
मध्यविन्दुमा रहेको नेपाल लोक सेवा माध्यमिक विद्यालयमा इन्सेकद्वारा गठन भएको बाल अधिकार समूहले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा मङ्सिर १६ गते विद्यालय परिसरमा सचेतनामूलक सडक नाटक प्रदर्शन गरेको हो । बाल अधिकार समूहद्वारा हिंसा तथा दुर्व्यवहार भनेको के हो? हिंसा तथा दुर्व्यवहार कहाँ कहाँ, को बाट र कसरी हुन्छ ?, हिंसा तथा दुर्व्यवहारमा परियो भने कहाँ सम्पर्क र समन्वय गर्न सकिन्छ साथै हिंसा र दुर्व्यवहारबाट सुरक्षित हुने उपायहरूको बारेमा नाटक मार्फत सचेत गराएका थिए । नाटक मार्फत सचेतना कार्यक्रम गर्दा प्रभावकारी हुने भएकाले बाल अधिकार समूहले हिंसा विरुद्ध सचेतनामूलक नाटक प्रदर्शन गरेको बाल अधिकार समूहका अध्यक्ष हरि भण्डारीले बताउनुभयो ।

विद्यालयका प्रधानाध्यापक लेखराज भण्डारीले विद्यालयमा बाल अधिकार समूहद्वारा सचेतनामूलक नाटक सञ्चालन गरेकोमा बाल अधिकार समूहलाई धन्यवाद दिनुभयो । उहाँले समाजमा लैङ्गिक हिंसा न्यूनीकरणका लागि सरोकारवालाहरू बिच सहकार्य हुनुपर्ने बताउनुभयो । विगत दुई वर्ष देखि इन्सेकद्वारा आफ्नो विद्यालयमा गठन भएको बाल अधिकार समूहद्वारा विद्यालय तथा समुदायमा सचेतनामूलक कार्यक्रम गरिरहेको उहाँले जानकारी गराउनुभयो । नेपाल लोक सेवा माध्यमिक विद्यालय बाल अधिकार समुहका अध्यक्ष हरि भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल लोक सेवा माध्यमिक विद्यालयका प्रधानाध्यापक लेखराज भण्डारीको प्रमुख आतिथ्यता रहेको थियो । त्यसैगरी कार्यक्रममा विद्यालयका सहायक प्रधानाध्यापक पिताम्बर पाण्डे, संरक्षक शिक्षक लक्ष्मी ज्ञवाली लगायत विद्यार्थीहरूको उपस्थित रहेको थियो ।
ज्ञानु पंगेनी
HUMAN RIGHTS NEWS PORTAL






