बाल विवाह न्यूनिकरण गर्न बाल अधिकार चेतना समूह अग्रसर, सडक नाटक प्रदर्शन
कञ्चनपुर । २०८० पुस २३ गते
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा लालझाडी गाउँपालिका–१ नैरंगा स्थित श्री शारदा राष्ट्रिय माध्यमिक विद्यालयमा गठित बाल अधिकार चेतना समूहले समाजमा ब्याप्त बालविवाहलाई न्यूनिकरण गर्ने उद्धेश्यले लालझाडी गाउँपालिका वडा नम्बर १ स्थित खेल मैदानमा ०८० पुस २२ गते सडक नाटक प्रदर्शन गरेको छ । मानव अधिकार शिक्षा कार्यक्रम अन्तर्गत स्थानीय समुदायलाई अधिकार र कर्तव्यप्रती सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउने उद्धेश्यले बाल अधिकार चेतना समूहले सडक नाटक प्रदर्शन गरेको हो । सडक नाटक प्रदर्शनमा शिक्षक, विद्यार्थी, अभिभावक, मानव अधिकार समुहका सदस्यहरु लगायत सयौँको सहभागिता रहेको थियो । सडक नाटक प्रदर्शन कार्यक्रममा बालबालिकाहरुले सानै उमेरमा विवाह गर्दा आइपर्ने सामाजिक, आर्थिक, शारीरिक तथा व्यक्तित्व बिकासलगायतका समस्याहरुको बारेमा जनचेतना जगाउने प्रयास गरिएको थियो ।
परम्परागत गलत मुल्यमान्यताका कारण बालिकाहरुको सानै उमेरमा विवाह गर्ने, छोरीहरुलाई विद्यालय ध्यायन नदिने समस्या समाजमा ब्याप्त रहेकाले यस प्रकारका नाटकले जनचेतना जागृत गर्ने सहयोग पुगेको श्री शारदा राष्ट्रिय माध्यमिक विद्यालयका प्रधानाध्यापक रोमाकान्त उपाध्यायले बताउनु भयो । बालअधिकार चेतना समुहका संरक्षक शिक्षक लोकराज भट्टले बालबालिकाहरुले प्रस्तुत गरेको जनचेतनामूलक सडक नाटकले समाजको यथार्थ चित्रण गरेको बताउँदै प्रहरीको भुमीकामा भएका बालबालिकाहरुलाई कानुनी सचेतना गराउनु आवश्यक रहेको बताउनु भयो । बालविवाह न्युनिकरणमा सरोकारवाला पक्षहरुको भूमिका झल्कीने गरी बाल अधिकार समूहका १५ जना बालबालिकाहरुले सडक नाटक प्रस्तुत गर्नुभएको थियो । बाल अधिकार समूहले विगत एक वर्षदेखि जिल्लाका विभिन्न क्षेत्रमा समाजमा देखिएका समस्याहरुलाई न्यूनीकरण गर्नका लागि हाजिरजवाफ प्रतियोगिता, अन्तरक्रिया कार्यक्रम, वक्तित्वकला प्रतियोगित र सडक नाटक प्रर्दशन गर्दै आउनुभएको छ ।
लिली कुँवर