बियोन्ड बेइजिङ कमिटीको प्रदेश स्तरीय परामर्श सम्पन्न
कास्की । २०८१ वैशाख २१ गते
बियोन्ड बेइजिङ कमिटीको आयोजनामा बि + ३० प्रदेश स्तरीय परामर्श कार्यक्रम वैशाख २० गते पोखरामा सम्पन्न भएको छ । बिबिसी गण्डकी प्रदेशको संयोजन तथा Right Here Right Now को सहयोगमा हरेक तह र क्षेत्रमा ५०ः५० नेतृत्व २०३० सम्ममा भन्ने नाराका साथ जुन १ मा पठाइने प्रतिवेदनका लागि गण्डकी प्रदेशमा महिलाको अवस्था तथा अधिकारको कार्यान्वयनको अवस्था कस्तो छ भन्ने कुराको परामर्श तथा छलफल गर्नको लागि उक्त कार्यक्रमको आयोजना गरिएको हो । बिबिसीले सन् १९९५ देखि बेइजिङमा भएको चौथो विश्व महिला सम्मेलनपछि बेइजिङ प्लेटफर्म फर एक्शनमा निरन्तर वकालत र काम गर्दै आएको छ । बीबीसीले महिला र बालिकाको नागरिक, राजनीतिक, आर्थिक र सामाजिक सशक्तिकरणमा काम गदै आएको छ । बिबिसि ले हरेक पाँच पाँच वर्षमा पठाउने प्रतिवेदनका लागि प्रदेशमा महिलाको अवस्था, प्रदेश सरकारले महिलाको हकका निम्ति गरेका कार्यहरु तथा चुनौतिका बारेका उक्त कार्यक्रममा छलफल गरिएको थियो । कार्यक्रममा सहभागी हुँदै पूर्व मन्त्री तथा गण्डकी प्रदेशका सांसद सीता सुन्दासले बिबिसीले गरेका कामहरु उपलब्धिमुलक रहेका भन्दै उहाँले महिलाहरुलाई अझै बढी सशक्त बनाउन संघ संस्था र राजनीतिक पार्टीहरुले अझै बढी प्रोत्साहन गर्नुपर्ने बताउनुभयो । यस्ता कार्यक्रमहरुले विकासमा महिलाको समान सहभागिता अनिवार्य गराएको कुरामा थप पहल गरेको बताउनुभयो । साथै उहाँले विपन्न तथा पिछडिएका महिलाहरुको अवस्थालाई ध्यानमा राखेर उनीहरुको उत्थानको लागि कामहरु गर्नु पर्ने बताउनुभयो ।
रुपा गाउँपालिकाकी उपप्रमुख लाल सुब्बा गुरुङले स्थानीय तहले प्रदेश र संघको मातहतमा काम गर्नु पर्ने भएकाले कतिपय कामहरु गर्न नसकेको बताउनुभयो । साथै उहाँले दिगो विकासको लक्ष्यलाई लिएर काम गर्दा महिला विकासको लागि पनि काम गर्नुपर्ने बताउनुभयो । मुस्लिम महिला आमा समूहका अध्यक्ष नाजबुन निशा खानले मुस्लिम महिलाहरु हरेक क्षेत्रमा पिछडिएको अवस्थामा रहेको बताउनुभयो । उहाँले मुस्लिम महिलाहरुको शिक्षा, स्वास्थ्य तथा रोजगारीका क्षेत्रमा सहभागिता न्यून रहेकाले मुस्लिम महिलाहरुको सहभागिता बढाउन प्रदेश सरकार समक्ष आग्रह पनि गर्नुभयो । गैरसरकारी संस्था महासंघ गण्डकी प्रदेशका अध्यक्ष गोपाल खड्काले नेतृत्वमा महिलाको अवस्था कस्तो छ भन्ने कुराको लेखाजोखा गरेर महिलालाई हरेक क्षेत्रमा अगाडि ल्याउनुपर्ने बताउनुभयो । उहाँले महिलाहरुलाई आर्थिक रुपमा सशक्त बनाएर मात्र महिलाको अवस्थामा परिवर्तन हुने बताउनुभयो । कार्यक्रममा ६ ओटा समूह बनाएर विगत पाँच वर्षमा गण्डकी प्रदेश सरकारले महिला अधिकारको लागि गरेका काम तथा चुनौतीहरुको उजागर गरि प्रस्तुती गरिएको थियो । कार्यक्रममा इन्सेक केन्द्रीय कार्यालयकी अधिकृत तथा बिबिसी कमिटि की सदस्य सम्झा श्रेष्ठले सहजीकरण गर्नुभएको थियो । कार्यक्रमको सभाध्यक्षता नारी सेवा केन्द्रकी अध्यक्ष उषा बडुवालले गर्नुभएको थियो भने अपाङ्गता महासंघ गण्डकी प्रदेशका अध्यक्ष खोमराज शर्मा, पूर्व सांसद प्रभा कोइराला लगायतले मन्तव्य राख्नुभएको थियो ।
इन्सेक गण्डकी प्रदेश कार्यालय, पोखरा ।