भूमिसम्बन्धी समस्या समाधान गर्ने जिम्मेवारी आयोगलाई : अध्यक्ष ज्ञवाली

तनहुँ । २०७७ फागुन २१ गते

भूमिसम्बन्धी समस्या समाधान आयोगका केन्द्रीय अध्यक्ष देवीप्रसाद ज्ञवालीले भूमिसम्बन्धी समस्या समाधान गर्ने जिम्मेवारी वर्तमान आयोगलाई प्राप्त भएको बताउनुभएकाे छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) तनहुँको आयोजना तथा भानु नगरपालिकाको संयोजनमा भानु नगरपालिकामा आवासको अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रममा बाल्दै उहाँले साे कुरा बताउनुभयो । भूमिसम्बन्धी समस्या राष्ट्रको महत्वपूर्ण समस्या रहेको भन्दै ज्ञवालीले अब भविष्यमा पटकपटक आयोग नबन्ने गरी अहिले नै सबै समस्या समाधान हुने बताउनुभयो ।    विगतमा आयोग गठनमा त्रुटी भएको कारण अहिले सरकारले ऐन निर्माण गरी अधिकार सम्पन्न आयोग बनाएको भन्दै सरकार परिवर्तन भएपनि आयोग विघटन नहुने ज्ञवालीले प्रष्ट पार्नुभयो । भूमी र आवाससम्बन्धी अधिकार संविधानको मौलिक हकमा समेत समावेश भएको भन्दै उनले अब आयन्दा कसैले पनि भूमिहिन भएर बस्नु नपर्ने बताउनुभयो । वास्तविक भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरूलाई राज्यले निर्धारण गरेको जग्गा उपलब्ध गराउने भन्दै उनले कसैले ढाँटेर र छलेर जग्गा प्राप्ती गर्न खोज्छ भने त्यसलाई कानुनी कारवाही गरिने प्रष्ट पार्नुभयो । आयोगले नै गर्नुपर्ने यस्तो अन्तरक्रियात्मक कार्यक्रम इन्सेकले आयोजना गरेकोमा अध्यक्ष ज्ञवालीले इन्सेकलाई धन्यवाद समेत दिनुभयो ।

सो कार्यक्रमम भानु नगरपालिकाका प्रमुख उदयराज गौलीले विगतमा पनि धेरै आयोगहरू बनेको तर भूमिसम्बन्धी समस्या यथावत रहेको भन्दै अब भविष्यमा यस्ता समस्याहरू नदोहोरिने गरी काम गर्नुपर्ने बताउनुभयो । भानु नगरपालिकामा भूमिहिन, सुकुम्बासी र अव्यवस्थितहरूको समस्या सबैभन्दा ठुलो रहेको हुँदा सबै जनप्रतिनिधि, कर्मचारी र नगरवासीहरूले यो समस्या समाधान गर्न भूमिका खेल्नुपर्ने बताउनुभयो । नगरपालिकाको तर्फबाट आयोगलाई सबैखाले सहयोग गर्ने प्रमुख गौलीले प्रतिबद्धता जनाउनुभयो । भूमिसम्बन्धी समस्या समाधान आयोगका केन्द्रीय सदस्य एकबहादुर रानाले अहिले स्थानीय तहमा लगत सङ्कलनको काम भइरहेको भन्दै वास्तविक भूमिहिन, सुकुम्बासी र अव्यवस्थित बसोबासीहरूले समयमै निर्धारित स्थानमा आफ्नो विवरण आयोगलाई उपलब्ध गराउनु पर्ने बताउनुभयो ।

यो आयोगले जसरी पनि भूमिहिनहरूलाई जग्गा उपलब्ध गराउने भन्दै रानाले सबैले आयोगलाई आफ्नो यथार्थ विवरण उपलब्ध गराएर सहयोग गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा भानु नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सुनिल पाण्डेले नगरपालिकामा भएको भूमिहिनहरूको समस्याको बारेमा जानकारी गराउनु भएको थियो । 

नगरपालिकामा सुरक्षित आवास कार्यक्रम अन्तर्गत २ सय ३१ घर निर्माण भएको, जनता आवास कार्यक्रम अन्तर्गत ३५ जना लाभग्राही छनौट भएको र त्यसमध्ये २८ जनाले तेश्रो किस्ता वापतको रकम लिएर आवास निर्माण गरिरहेको पाण्डेले जानकारी दिनुभयो । मानवअधिकार समूह भानुका संयोजक कृष्णराज धमनीयाको अध्यक्षतामा भएको सो कार्यक्रममा भानु नगरपालिका वडा नम्बर १ का अध्यक्ष प्रेमबहादुर लामाले पनि मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि प्रकाशचन्द्र भट्टराईले आवासको अधिकारको कार्यक्रमको बारेमा सहजिकरण गर्नु भएको थियो । कार्यक्रममा उपस्थित भानु नगरवासीहरूले अहिले भूमिसम्बन्धी समस्या समाधान आयोग मार्फत भइरहेको लगत सङ्कलन कार्य र त्यससम्बन्धी विभिन्न जिज्ञासाहरू राख्नुभएको थियो ।

प्रकाशचन्द्र भट्टराई