मधेश प्रदेशमा इन्सेकको वार्षिक सम्पादन भेला सम्पन्न

धनुषा । २०७९ पुस १३ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक मधेस प्रदेशको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ प्रकाशन पूर्व पुस १२ गते मधेस प्रदेशको धनुषामा वार्षिक सम्पादन भेला सम्पन्न गरिएको छ । नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ प्रकाशनका लागि मधेस प्रदेशका ८ ओटा जिल्ला प्रतिनिधीहरुको सहभागितामा आयोजित वार्षिक सम्पादन भेलाले २०२२ को जनवरीदेखि डिसेम्बरको हालसम्म इन्सेक जिल्ला प्रतिनिधीहरुले अभिलेख गरेका मानवअधिकार उल्लघंनका घटनाहरुलाई वर्ष पुस्तकमा प्रकाशनपूर्व सम्पादन गर्ने, घटनाको पुष्टि, पुर्नपुष्टि र परीक्षण गरिएको इन्सेक मधेश प्रदेश संयोजक राजु पासवानले बताउनुभयो । इन्सेकले सन् १९९२ देखि हरेक वर्ष नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन गर्दै आएकोे छ । सन् २०२२ का घटना नेपाल मानवअधिकार वर्ष पुस्तक २०२३ मा ३१ औं संस्करणको रुपमा छापिनेछ ।

सम्पादन भेला उद्घाटन सत्रमा इन्सेक अनलाइन सम्पादक तथा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ सम्पादनका केन्द्रीय कार्यालयको सम्पादन मण्डलका रमेशप्रसाद तिम्ल्सिनाले वर्ष पुस्तकका लागि जिल्लामा इन्सेक प्रतिनिधिले अभिलेखीकरण गरेका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामा वास्तविकता पुष्टिका लागि वार्षिक सम्पादन भेला आयोजना गरिएको बताउनु भयो । सम्पादन मण्डलका गोविन्द त्रिपाठीले वर्ष पुस्तकमा प्रकाशन हुने मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाले दीर्घकालसम्म प्रभाव पार्ने भएकाले त्यसको पुष्टि एवम् पुर्नपुष्टिका लागि भेला आयोजना गरिएको बताउनु भयो । उहाँले घटना सम्पादनका बेला तिथिमिति, राज्यपक्षबाट भएका सम्झौता र जिम्मेवारीलगायतका विषयमा मिहिन ढङ्गले अध्ययन गरी घटना उपर छानविन गरिने बताउनु भयो ।

दिपेन्द्र प्रसाद सिंह