मध्यविन्दुमा समस्या पहिचान तथा कार्ययोजना बैठक सम्पन्न

नवलपरासी (सुस्ता पूर्व) । २०८० भदौ ३१ गते

मध्यविन्दु नगरपालिकामा मानवअधिकार समूहको स्थानीय स्तरमा रहेका समस्या पहिचान तथा कार्ययोजना बैठक भदौ २९ गते सम्पन्न गरिएको छ । बैठकबाट पालिकामा रहेका शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण र विभेद सम्बन्धी समस्या पहिचान गरिएको छ । जसअन्तरगत शिक्षा क्षेत्रमा देखिएका समस्यामा , विद्यालयको शैक्षिक सुधार गर्न शिक्षकको दरवन्दी कम भएको, विद्यालयले विद्यालय सञ्चालनका लागि शुल्क लिने गरेको, विद्यालय व्यवस्थापन समिति निर्माणमा राजनीतिकरण गरिने गरिएको, विद्यालयमा सञ्चालित खाजा कार्यक्रमको नियमित अनुगमन नभएको, विद्यालयमा भवनहरु अपांगमैत्री नभएको लगायतका समस्या समस्या बैठकबाट पहिचान गरिएको इन्सेक जिल्ला सहजकर्ता राजु चापागाईंले जानकारी दिनुभयो । यस्तै स्वास्थ्य क्षेत्रमा देखिएको समस्यामा नगर अस्पताल चलायमान नभएको, स्वास्थ्य बीमा सम्बन्धी सचेतना नभएको, बीमाबाट प्राप्त हुने सेवा प्रति सेवाप्रदायकको कारणले समस्या रहेको, विद्यालयस्तर  सचेतनाका कार्यक्रम नभएको लगायतका समस्या पहिचान गरिएको चापागाईंले बताउनुभयो ।

यसैगरी वातावरण सम्बन्धी समस्याहरूमा, सही रुपमा फोहरमैला व्यवस्थापन नभएको, खोलाहरूमा फोहर फ्याँक्ने प्रचलन रहेको, चारओटा वडामा मात्र फोहोर संकलन गरिने बाँकी वडामा सञ्चालनमा ध्यान नदिएको, उद्योगबाट निस्कने प्रदुषण नियन्त्रण नभएको, उद्योगहरूको अनुगमनमा सरोकारवालाले चासो नदिएको जस्ता समस्या बैठकबाट पहिचान भएको छ । भने , विभेदको सवालमा, बालिका तथा महिलाहरूमा घरेलु हिंसा कायम रहेको, सचेतनाको कार्यक्रम पर्याप्त नभएको, घटना हुँदा पीडितलाई न्याय पाउन कठिनाइ हुने गरेको, सीमान्तकृत समुदायको सहभागिता सुनिश्चित नभएको जस्ता समस्या रहेको छ । मानवअधिकार समूहका संयोजक भूपलाल अर्यालको अध्यक्षतामा बसेको बैठकमा समूहका पदाधिकारीहरुको सहभागिता रहेको थियो । बैठकबाट पहिचान भएका समस्याहरु समाधानका लागि कार्ययोजना तयार गरी निरन्तर काम गर्ने र मध्यबिन्दु नगरपालिकालाई यथाशीघ्र ध्यानाकर्षण गर्ने निर्णय गरिएको संयोजक अर्यालले जानकारी दिनुभयो ।

इन्सेक गण्डकी प्रदेश कार्यालय, पोखरा